प्रधानमन्त्रीले गरे ‘ओभरपास’को उद्घाटन

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार १६:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ग्वार्को चोकमा बनेको ‘ओभरपास’को शुक्रबार उद्घाटन गरेका छन् ।

काठमाडौं उपत्यकाको चक्रपथमा सवारी आवागमनको अत्यधिक चाप छ । त्यसलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा बनाएको ‘ओभरपास’को ओलीले उद्घाटन गरेका हुन् ।

चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने ३ क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलोपटक ‘ओभरपास’ निर्माण गरिएको छ । ६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ रहेको ‘ओभरपास’मा ‘ग्राउन्ड क्लियरेन्स’ ६ मिटर तथा सवारीसाधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिएको छ।

२०७८ सालबाट यसको निर्माण सुरू गरिएको थियो। २०८० साल फागुनमा नै सम्पन्न गर्ने गरी आयोजना अघि बढाइएको भए पनि पटक–पटक म्याद थपियो । मुख्य संरचनाको निर्माण पूरासँगै लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने, ट्राफिक बत्ती जडानलगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालनमा आएका हुन्।

आशिष–समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजारमा ‘ओभरपास’को ठेक्का पाएको थियो । २०८० फागुन १२ गते सम्पन्न गर्नुपर्ने थियो । समयमा सम्पन्न भएपछि २०८१ पुस ८ गतेसम्मको म्याद थपियो ।

ठेकेदार कम्पनीले पुस ८ गतेसम्म सम्पन्न नगरेर चैत्र मसान्तसम्मको भाका माग्यो । उक्त भाकाअनुसार काम भइरहेकोमा ‘ओभरपास’को ४० मिटरको पुनर्निर्माणले थप १ महिना म्याद सारिएको थियो।

२०८२ वैशाखभित्र ग्वार्कोको ‘ओभरपास’ निर्माण सम्पन्न हुने लक्ष्य लिइएकोमा वर्षाका कारण थप १ महिना निर्माण पर सारिएको बताइएको छ । ग्वार्को ‘ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.