
काठमाडौं । प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (शनिबार) पनि संसदमा अवरोध जारी राखेका छन् ।
प्रतिनिधिसभाको बैठकमा यी २ दलले नियमित अवरोध गरिरहेका छन् । बैठक जारी रहँदा बहिस्कारसमेत गर्ने गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर २ दलका सांसदहरूले संसदमा अवरोध गरेका हुन् ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले शनिबारको बैठकमा बोल्दै आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताइन् । गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राप्रपा सांसद रोशन कार्कीको छ ।
सभामुख देवराज घिमिरेले संसद बैठकको कारबाही अघि बढाउने वित्तिकै दुवै दलका सांसद सिटबाट उठेर विरोध जनाएका थिए । त्यसपछि घिमिरेले सांसदहरुलाई बोल्न समय दिए । सभामुखले विभिन्न १० वटा मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाएका हुन्। यद्यपि, रास्वपाका सांसदले वेल घेराउ गरेका छन्।
गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक विनियोजनमाथि छलफल हुनेछ ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची छ । रास्वपा र राप्रपाले अवरोध गरे पनि सभामुख घिमिरेले संसद बैठक भने जारी राखेका छन् ।
























