विराटनगरमा जगन्नाथ रथयात्रा हुँदै

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ७, शनिबार १९:४३

विराटनगर । विराटनगरमा जगन्नाथ रथयात्रा निकालिने भएको छ । असार १३ गते रथयात्रा निकालिने भएको हो ।

श्री साई जननी द्वारिकामाई मन्दिर परिवारले शनिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी रथयात्राबारे जानकारी दिएको हो ।

विराटनगर महानगरपालिका–६ सरौचियामा रहेको श्री साई जननी द्वारिकामाई मन्दिरले असार १३ गते शुक्रबारका दिन मन्दिर परिसरबाट जगन्नाथ रथयात्रा निकाल्ने मन्दिरका गुरु छविरमण निरौलाले जानकारी दिए ।

उनका अनुसार भारतको जगन्नाथ पुरीमा भगवान् श्री कृष्ण, बलराम र शुभद्रा एउटै रथमा सवार भएर सानिमाको घर जाने क्रममा हरेक असार शुक्लमा रथयात्रा निकाल्ने गरेको मान्यता अनुसार विराटनगरमा पनि रथयात्रा निकाल्न थालिएको हो ।

हिन्दु समाजमा एकअर्काको निन्दा र विरोध गर्ने होडबाजीको परिपाटी सिर्जना भएको हुँदा धार्मिक सहिष्णुता नै आजको आवश्यकता भन्ने उद्देश्यका साथ दैविक पीडामा गुज्रिरहेको हाम्रो देशको चिरशान्ति प्राप्ति हुने विश्वका साथ जगन्नाथ रथयात्रा निकाल्न लागिएको निरौलाले बताए ।

२०५२ सालदेखि ठेलामा राखेर सुरु गरेको रथयात्रालाई अहिलेसम्म निरन्तरता दिँदै आए पनि सबै भक्तजनले रथयात्रा बारे जानकारी नपाउँदा सहभागिता कम हुँदै आएको थियो ।

तर, यसपटक रथयात्राको महत्वबारे सबै भक्तजनमा पुर्याएको र रथयात्राको डोरी छुनाले पुण्य मिल्ने विश्वास रहेको उनले बताए ।

रथयात्रा मन्दिर परिसरबाट सुरु भइ धरान रोड, शिव मन्दिर, बरगाछी, पानीट्यांकी, राधाकृष्ण मन्दिर, तीनपैनी चोक, सत्यनारायण मन्दिर, मेनरोड, काली मन्दिर, ट्राफिक चोक, बसपार्क, महेन्द्र चोक, केशलिया रोड, सहलेश मन्दिर हुँदै पुनः मन्दिरमा पुगेर विश्राम लिइने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.