
विराटनगर । सुनसरीमा एउटा कारभित्र सोमबार बिहानका राति अत्याधुनिक राइफल भेटिएको छ । बराहक्षेत्र नगरपालिका–५ अमहा सिमसार जंगलस्थित भित्री सडक खण्डमा भेटिएको कारभित्र राइफल फेला परेको हो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार धरानबाट कालाबञ्जारतर्फ आउँदै गरेको बा ६ च ८४०३ नम्बरको कालो रंगको कारलाई प्रहरीले शंका लागेर राति करिब १ बजेतिर रोक्न खोजेको थियो । त्यस क्रममा कार छाडेर कारभित्र रहेका ४–५ जना व्यक्तिहरु फरार भएको खतिवडाले बताए ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको इन्स्पेक्टर दिवश कुँवर नेतृत्वको टोलीले कार खानतलासी गर्दा ‘मेडइन इङल्याण्ड’ लेखिएको राइफल फेला परेको हो । सडकमै कार छाडेर त्यहाँभित्र रहेकाहरु भागेपछि प्रहरीले जंगलमा पनि ‘सर्च’ गरेको थियो ।
भागेकाहरु अहिलेसम्म फेला नपरेको र खोजी तीव्र पारिएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । उनका अनुसार कार र हतियारलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

























