
विराटनगर । विराटनगरमा हराएको नगद र मोबाइल फेला पारेर प्रहरीले सोमबार सम्बन्धित धनीलाई बुझाएको छ ।
भारतको जोगवनीबाट प्रदेश १–००२ ह ३९३० नम्बरको सीटी सफारीमा विराटनगरतर्फ आउने क्रममा नगदसहितको झोला, मोबाइल र कागजपत्र हराएको भनेर विराटनगर महानगरपालिका–५ का ८० वर्षीय ईश्वरप्रसाद उपाध्यायले प्रहरीमा निवेदन दिएका थिए । सफारीमा आइतबार अपरान्ह जोगवनीबाट आएका उनी विराटनगर–५ स्थित रामजानकी चोकमा ओर्लिए ।
तर, नगद ७७ हजार ५ सय रूपैयाँसहितको झोला र मोबाइल सफारीमै छुट्यो । त्यसपछि उनले खोजीका लागि प्रहरीमा निवेदन दिए । वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी अनमोल खड्का नेतृत्वको टोलीले घटनाको अनुसन्धान गर्दै सफारीको खोजी गर्न थाल्यो ।
प्रहरी टोलीले सीसी क्यामेरा फुटेजको अध्ययन गर्ने क्रममा उपाध्याय चढेको सफारी पत्ता लगायो । सफारी र चालक विराटनगर–६ सरौचिया बस्ने २७ वर्षीय हरिश साहको पहिचान भएपछि वृद्ध अवस्थाका उपाध्यायको हराएको नगदसहित मोबाइल फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार चालकलाई वडा प्रहरी कार्यालयमा ल्याएर उनको साथमा रहेको नगद र मोबाइल सोमबार सम्बन्धित धनीलाई बुझाइएको छ । उपाध्यायले हराएको नगद र सामान फेला पारिदिएको भन्दै प्रहरीप्रति आभार व्यक्त गरेका छन् । ‘हराएको पैसा र मोबाइल फिर्ता आउँछ भन्ने लागेकै थिएन,’ उनले भने, ‘यति दुःख गरेर सामान फिर्ता गरिदिएकोमा प्रहरीलाई धन्यवाद ।’

























