विशेष अदालतमा सबै न्यायाधीशको इजलास : सञ्चारमाध्यमको अवहेलना सम्बन्धी मुद्दामा सुनुवाइ

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार १४:५४

काठमाडौं । विशेष अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइका लागि सबै न्यायाधीश सम्मिलित इजलास गठन भएको छ । यसलाई न्यायपालिकाले चालेको असाधारण कदमका रूपमा लिइएको छ ।

विशेष अदालतले सञ्चारमाध्यमले गरेको भनिएको अवहेलनासम्बन्धी प्रतिवेदनको प्रारम्भिक सुनुवाइ गर्न इतिहासमै पहिलोपटक सबै न्यायाधीशहरूको संयुक्त इजलास गठन गरेको हो । ६ जना न्यायाधीशहरू सम्मिलित यो इजलास विशेष अदालतकै अहिलेसम्मको सबैभन्दा ठूलो न्यायिक बेन्च मानिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरु न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला सम्मिलित इजलास गठन गरिएको छ । विशेष अदालतका ६ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेस गरेका थिए ।

वृहत् इजलासले प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेको छ । दृष्टि साप्ताहिक तथा दृष्टि अनलाइनमा प्रकाशित शृङ्खलाबद्ध समाचारहरूमार्फत अदालतको अवहेलना भएको भन्दै ६ जना कर्मचारीले औपचारिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा समाचार सामग्रीले अदालतप्रति अवहेलनाको भावना प्रस्तुत गरेको दाबी गरिएको छ ।

विशेष अदालत उच्च स्रोतका अनुसार, ‘सञ्चारमाध्यममा प्रकाशित समाचारहरूले अदालतको मानहानी तथा अवहेलनाको कसुर आकर्षित हुने देखिएकोले कारबाहीको मागसहित प्रतिवेदन पेस गरिएको हो । प्रारम्भिक सुनुवाइ सकिएको छ । आजै अपरान्हसम्म आदेश आउन सक्छ ।’

सामान्यतः विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरूमा ३ सदस्यीय इजलास गठन गरेर सुनुवाइ गरिँदै आएको थियो । तर, यो प्रकरण अदालतको स्वतन्त्रता, मर्यादा र गरिमासँग प्रत्यक्ष जोडिएको मानिँदै आएकोले सबै न्यायाधीशहरू सम्मिलित इजलास गठन गरेको स्रोतको भनाइ छ ।

यस घटनाले प्रेस स्वतन्त्रता र न्यायिक मर्यादाबीचको सन्तुलन कसरी कायम गरिने भन्ने प्रश्न पनि उठाएको छ । अदालतले के आदेश दिन्छ भन्नेबारे सञ्चार क्षेत्र र कानुनी वृत्त चनाखो बनेका छन् ।

यसबारे दृष्टि साप्ताहिक वा अन्य सम्बद्ध सञ्चारमाध्यमको औपचारिक प्रतिक्रिया भने आउन बाँकी छ । यो घटनाले प्रेसको उत्तरदायित्व र सीमाबारे पुनर्विचार गर्न बाध्य बनाउन सक्ने आकलन गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.