
संखुवासभा । संखुवासभामा नेपाली सेनाको इन्द्र दल गुल्मले विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसीसी) तालिम दिन थालेको छ ।
सदरमुकाम खाँदबारीमा रहेको गुल्मले चैनपुर नगरपालिका –६ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई तालिम दिन सुरु गरेको हो । जुनियर डिभिजन तालिम सोमबारबाट सुरु गरिएको गुल्मले जनाएको छ ।
देशका युवालाई अनुशासित, जिम्मेवार,देशभक्त र नेतृत्वदायी नागरिक बनाउने उद्देश्यका साथ विद्यार्थीलाई तालिम दिन सुरु गरिएको इन्द्र दल गुल्मका सेनानी (मेजर) राजु क्षेत्रीले जानकारी दिए । सरस्वती माध्यमिक विद्यालयका ३० जना क्याडेटहरुलाई तालिम दिन थालिएको उनले बताए ।
तालिम विभिन्न गरेर १ सय दिनसम्म चल्नेछ । उक्त तालिम सिं सं ५१ जुनियर डिभिजनअनतर्गतका १५ छात्रा र १५ छात्रलाई दिइने छ । राष्ट्रिय सेवा दल विक्रम संवत २०२२ सालमा स्थापना भएको हो ।
तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित गरिने मेजर क्षेत्रीले बताए । यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइने उनको भनाइ छ ।

























