
विराटनगर । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङले संघको ५२ औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी मनाएको छ ।
संघको स्थापना दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापनमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ७ जना सम्मानित भएका छन् ।
सम्मानित हुनेमा एनसीडीए मोरङ शाखाका प्रेस सल्लाहकार उद्धव घिमिरे, कानुनी सल्लाहकार भरतबहादुर थापा, अटल फार्मेसीका सञ्चालक पवन अटल, औषधि व्यवसायी उदयचन्द्र झा, हिमगिरी मेडिकोका कर्मचारी उमेश ठाकुर, न्युमेड प्रालिका विनोद श्रेष्ठ र औषधि ढुवानी गर्ने प्रेमलाल राय छन् ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि सांसद योगेन्द्र मण्डल र संघका अध्यक्ष देशबन्धु ढकालले सम्मानपत्र प्रदान गरे ।

स्थापना दिवसको अवसरमा मंगलबार बिहान अस्पताल चोकदेखि संघको भवनसम्म प्रभातफेरी गरिएको थियो । त्यसपछि संघको भवन परिसरभित्र झन्डोत्तोलन गरियो ।
कार्यक्रममा बोल्दै सांसद योगेन्द्र मण्डलले औषधि व्यवसायी संघले स्थापना दिवसमा सामाजिक काम गरेर सबैको मन जितेको बताए ।
उनले संघको सामाजिक सेवा मूलक कार्यको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने काम गरेको बताए ।
एनसीडीए मोरङका अध्यक्ष देशबन्धु ढकालले संघको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेर मनाएको जानकारी दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर संघले हप्ताभर विभिन्न सामाजिक कार्य गरेको बताए ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रदीपकुमार विश्वास, प्रदेशका उपाध्यक्ष सुधिन्द्रध्वज श्रेष्ठ, संघको मोरङका निवर्तमान अध्यक्ष लक्ष्मी तिम्सिनालगायतले शुभकामना दिए ।
एनसीडीए मोरङ शाखाको यो स्थापना दिवस उत्सवले औषधि व्यवसायी समुदायको सामाजिक सेवाप्रतिको प्रतिबद्धता प्रस्ट रूपमा देखाएको ढकालले बताए ।























