मेयर उपमेयर झगडाले धरानको बजेट अन्योल

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार २०:१२

विराटनगर । प्रमुख र उपप्रमुख बीचको झगडाका कारण सुनसरीको धरान उपमहानगरपालिकाको बजेट अन्योल भएको छ । संविधानतः  स्थानीय तहहरूले बजेट ल्याउने दिन आज अन्तिम दिन हो ।

तर, आन्तरिक झगडाका कारण धरानले बजेट ल्याउन नसकेको हो । उपमेयर अइन्द्रविक्रम बेघाले उपमहानगरको बजेट अनिश्चित रहेको बताएका छन् ।

मेयर हर्क साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसकेका कारण बजेटको काम अघि नबढेको उनले बताए ।

‘बजेट सीमा निर्धारण समितिको बैठक बस्न सकेको छैन,’  उनले भने, ‘सीमा निर्धारण समितिको बैठक बसेर सीमा तोकेपछि बजेट तर्जुमा समितिको बैठक बस्नुपर्छ ।’

तर्जुमा समितिको बैठकपछि विषयगत समिति र वडा समितिलाई सीमा पठाएर छलफल हुने बताउँदै उनले बजेट निर्माणको प्रक्रियामा प्रवेश नभएको बताए ।

राजस्व परामर्श समितिले भने प्रतिवेदन तयार पारेको छ । राजस्व परामर्श समितिको वैशाख ३० मा सम्पन्न बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ ।

समितिले धरानमा १ अर्ब ६० करोडको सीमा दिएको थियो ।

श्रमदान विवादमा एकसाता अघि मेयर र उपमेयरबीच विवाद भएको थियो । विवादका कारण बजेट सीमा निर्धारण समिति बैठक अवरुद्ध बनेको थियो ।

काठमाडौंमा पनि मेयर बालेन साहले नगर सभा नबोलाउँदा अन्तिम दिनमा बजेट ल्याउन सकेनन् ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.