
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन विवादसँग सम्बन्धी ४ वटा मुद्दामा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासमा बिहीबार सुनुवाइ हुने भएको हो ।
न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएको छ । बालुवाटारस्थित सचिवालयबाट काम गर्दै आएका बद्री केसीले परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको मुद्दा, बद्री केसीले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको अर्को मुद्दाका साथै परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले राजेश शम्शेर राणालाई विपक्षी बनाएर दायर गरेका मुद्दाहरु छन् ।
एनआरएनएको महाधिवेशनसँग सम्बन्धित विवादको मुद्दालाई गत वैशाखमा सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो । एनआरएनएको एकता महाधिवेशन पक्षधर राजेश शमशेर राणाले तोकिएकै मिति (वैशाख २०–२२) मा हुनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
यस्तै, ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीले आफूले पनि सर्वोच्चकै दोस्रो फैसलाबाट आधिकारिकता पाएको भन्दै एकता महाधिवेशन सार्न मागसहित मुद्दा दायर गरेका थिए । वैशाख पहिलो साता दायर उक्त मुद्दा सुरुमा निरन्तर हेर्न नमिल्ने भएसँगै सर्वोच्चकै परमादेशअनुसार गठन भएको समितिले वैशाख २१ मै एकताको महाधिवेशन सम्पन्न गरिसकेको छ ।
तर, अदालतले यस सम्बन्धमा थप सुनुवाइ आवश्यक भएको भन्दै पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो । त्यही मुद्दाको सर्वोच्चमा सुनुवाइ हुने भएको हो ।

























