
विराटनगर । ‘१० वर्ष कुवेत बसेँ, भाषाको समस्याले धेरै गाह्रो भयो,’ सुनसरी रामधुनी नगरपालिका–१ की शकुन्तला अधिकारीले भनिन् ।
वैदेशिक रोजगारीबाट फर्किएपछि अहिले उनी नेपालमै सानो व्यवसाय सञ्चालन गरिरहेकी छिन्। कोशी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयद्वारा बिहीबार आयोजित वैदेशिक रोजगारीबाट फर्किएकाहरूको पुनः एकीकरण (रेमी) विषयक सञ्चारकर्मीसँग छलफल कार्यक्रममा सहभागी भएकी अधिकारीले विदेशमा भोगेको पीडा सुनाइन्।
उनका अनुसार भाषा नबुझेका कारण काममा असहजता भएको मात्र होइन, काम गर्ने स्थानमै नेपालीहरूले तलब नदिने र फोन नउठाउने, सहयोग नगर्ने जस्ता समस्याले मानसिक पीडा व्यहोर्नु पर्यो । ‘हामीलाई बाख्राको पाठा बेचेको जस्तो व्यवहार गर्थे । मालिकले सिधै तिमीलाई पैसा तिरेर किनेको हुँ भन्थे,’ उनले भनिन् ।
सुरुमा घरेलु कामदारको रूपमा कुवेत गएकी उनले २ वर्षसम्म यातना भोगेपछि मात्र कार्यालयमा काम पाउन सकिन्। तर, नेपाल फर्किएपछि सामाजिक व्यवहारले झनै चोट दियो ।
‘महिला विदेश गइन् भने गलत अर्थ लगाउँछन् । म त डिप्रेसनसम्म पुगेकी थिएँ,’ उनले सुनाइन्। उनले विदेश जानुअघि भाषा र सिप सिकेर मात्र जान सबैलाई आग्रह गरिन् । उनले विदेशी भूमिमा भोगेको यातना र स्वदेशमै भोग्नु परेको सामाजिक बेवास्ताको पीडा अझै बिर्सन सकेकी छैनन् ।
मोरङको केराबारी–१० की जीवन राई पनि विदेश रोजगारीको अनुभव सुनाउने अर्की सहभागी थिइन् । आप्रवासी श्रमिक सञ्जालकी पालिका संयोजकसमेत रहेकी उनी सन् २०१४ मा साथीको भनाइमा लागेर साइप्रस पुगेकी थिइन् ।
‘केयरगिभर’को रूपमा ९२ वर्षीया वृद्धाको सेवा गर्नुपर्ने काम पाएकी उनलाई त्यहाँको भाषा र प्रविधि थाहा नहुँदा निकै गाह्रो भयो। १८ महिनामै स्वदेश फर्किएकी उनी पुनः दोस्रो पटक दुबई गइन्।
तर, त्यहाँ पनि निद्रा, स्वास्थ्य, आरामको समस्या भएपछि पुनः नेपाल फर्किनु पर्यो । नेपाल फर्किएपछि स्वरोजगार बन्न खोज्दा लगानी अभावले उनी हाल सामान्य किनारा पसल सञ्चालन गर्दै आएकी छिन्।
‘नेपाल फर्किएपछि समाजले हेर्ने दृष्टिकोण कमाइको आधारमा हुने रहेछ,’ उनले भनिन्, ‘ ‘कति पैसा पठायो, कत्रो घर बनायो, त्यसै अनुसार व्यवहार गर्छन्।’ उनका अनुसार रेमी परियोजनाले पछिल्लो समय स्वरोजगार, उद्यमशीलता, तालिम तथा उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ।
उनले विदेशबाट फर्किएकाहरुलाई रोजगारसँग जोड्न नुडल्स कारखाना खोल्ने तयारीमा रहेको र पालिकासँग बजेट माग गरिसकेको जानकारी दिइन्।
शकुन्तला र जीवन मात्रै हैनन्, विदेशी भूमिमा भोगेको यातना र स्वदेशमै भोग्नुपरेको सामाजिक बेवास्ताको पीडाले विदेश पुगेर फर्किएका धेरै महिलाहरु प्रताडित भइरहेका छन् ।
विदेशमा श्रम गर्दैगर्दा भोगेका समस्यादेखि नेपाल फर्किएपछि सामाजमा सामना गर्नुपरेका अपमानजनक व्यवहार बिर्सनलायक छन् । विदेशमा दुःख पाएर फर्किएका महिला नेपालमा पनि आशा गरेजस्तो स्वागतको सट्टा सामाजिक दृष्टिकोणको भयानक पीडा झेल्न बाध्य छन् ।
वैदेशिक रोजगारीमा गएर फर्किएका महिलाको पुनर्स्थापना चुनौतीपूर्ण बनेर गएको छ ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले वैदेशिक अध्ययन वा रोजगारीमा जानेलाई रोक्न नसकिने भए पनि फर्किएकालाई व्यवस्थित रूपमा पुनर्स्थापनाका लागि राज्यले योजना अघि सारिरहेको बताए।
‘सामाजिक पुनर्स्थापना मानव विकासको मूल अंग हो,’ मन्त्री राईले भने, ‘विदेशबाट फर्किएकालाई उद्यमी बनाउन राज्य गम्भीर छ।’
उनले टोल–टोलमा सञ्चालन भइरहेका ‘ब्रिजकोर्स’ कक्षाहरू नियमन गर्न जरुरी रहेको समेत बताए। सामाजिक व्यवहारमा परिवर्तन नआएसम्म पुनर्स्थापनामा अवरोध भइरहने मन्त्री राईको भनाइ छ ।
विदेशमा श्रम गरेर फर्किएका महिलाहरूले अझै पनि समाजबाटै दोहोरो चोट भोग्नु परेको अवस्था हटेको छैन ।
पुनर्स्थापनाका सरकारी योजना भए पनि सामाजिक दृष्टिकोण बदल्न राज्य र नागरिक दुवैको भूमिका अपरिहार्य हुने सरोकारवाला बताउँछन । महिलाहरुलाई सम्मानका साथ पुनर्स्थापनामा जोड दिनुपर्ने उनीहरुको भनाइ छ ।























