
काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशविरुद्ध ७ वटा उजुरी परेको छ । सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेल र शान्तिसिंह थाविरुद्ध उजुरी परेको हो ।
संसदीय सुनुवाइ समितिमा परेका ७ वटा उजुरीमा ५ वटा व्यक्ति केन्द्रित रहेका छन् भने दुई वटा समावेशी नभएको भन्नेसँग सम्बन्धित छ ।
पोखरेल र पौडेलविरुद्ध दुई–दुई वटा उजुरी परेको छ । थापाविरुद्ध एउटा उजुरी परेको छ । न्यायपरिषद्को सदस्य पदमा प्रस्तावित महेशकुमार नेपालविरुद्ध उजुरी परेको छैन ।
संसदीय सुनुवाई समितिले बिहीबार समितिका सदस्यहरूलाई प्राप्त उजुरी वितरण गरेको छ । समितिका सभापति इश्वरीदेवी न्यौपानेका अनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफल हुनेछ ।
आगामी आइतबार प्रस्तावित न्यायाधीशको सुनुवाइ हुनेछ । प्रस्तावित व्यक्तिको कार्यायोजना सुनेपछि सोही दिन निर्णय गर्ने वा अर्को दिन निर्णय गर्ने तय हुनेछ ।

























