मनसुनबाट २० लाख नेपाली प्रभावित हुने पूर्वानुमान

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १२, बिहीबार १८:५१

काठमाडौं । यस वर्षको मनसुनबाट करिब २० लाख नेपाली नागरिक कुनै न कुनै हिसाबले प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

राष्ट्रिय जोखिम, विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४ लाख ४७ हजार घरधुरीका करिब १९ लाख ९७ हजार मानिस जोखिममा पर्न सक्ने देखिन्छ । तीमध्ये करिब १० प्रतिशत जनसंख्यालाई प्रत्यक्ष रूपमा उद्धार तथा राहत आवश्यक पर्ने प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टको भनाइ छ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मंगलबार भएको छलफलमा गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् व्यवस्थापनका लागि विभिन्न निकायबीच समन्वय गरिएको जानकारी दिए । यस वर्ष कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न भूभागमा सरदरभन्दा ५५–६५ प्रतिशत बढी वर्षा हुने पूर्वानुमान छ।

जोखिम जुनसुकै बेला उत्पन्न हुन सक्ने भएकाले सावधानी र सक्रियता आवश्यक रहेको लेखकको भनाइ छ । यस वर्ष सूचना प्रवाह प्रणालीलाई अझ प्रभावकारी बनाउने तयारी गरिएको छ।

एसएमएस मात्र नभइ मोबाइलमा सिधै घन्टी बजाएर सूचना दिने प्रविधिको प्रयोग गरिने गृह मन्त्रालयले जनाएको छ। विपद् सम्भावित क्षेत्रमा जडान भएका टावरमार्फत एकैपटक सबै मोबाइलमा सूचना प्रवाह गर्ने योजना बनाइएको छ।

विपद् व्यवस्थापनका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । स्थानीय तहमा आपतकालीन सामग्री राख्ने गोदाम बनाउने तयारी छ। चोभारको गल्छी विस्तार गरी काठमाडौं उपत्यकामा डुबान न्यूनीकरण गर्ने निर्णय पनि गरिएको छ।

त्यस्तै, ४ अर्ब ६५ करोडको विपद् राहत कोष सरकारसँग रहेको छ। यसपाली अघिल्ला वर्षको जस्तो कमजोरी दोहोरिन नदिन संरचनागत तयारीमा जोड दिइएको गृह मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.