
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्वार्थ समूह हाबी भइरहेको बताएका छन् ।
महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको उनको टिप्पणी छ । जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा चन्द्रागिरी नगरपालिका–१३ मा आयोजित वृक्षारोपण कार्यक्रमको शुभारम्भका अवसरमा बोल्दै ओलीले पार्टी एकल बहुमतसहितको मिसन–२०८४ आफूहरुको लक्ष्य रहेको बताए ।
उनले पार्टी एउटा मिसनमा केन्द्रित भएका बेला स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने चेतावनी उनले दिए । ‘हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौं। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन । हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार हुने गरी काम गरिने बताए । मौका परीक्षामा सहभागी हुने र आउने एसईईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने ओलीको भनाइ छ ।
























