
काठमाडौं । राष्ट्रिय धान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन् ।
दिवसका उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा गरिएको रोपाइँमा पौडेलले धान रोपेका हुन् । राष्ट्रपति कार्यालयले रोपाइँको आयोजना गरेको थियो ।
राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलुसहित रोपाइँमा सहभागी भए । रोपाइँ सुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनुपर्ने बताए ।
कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको उनको भनाइ छ । कृषि पेसामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भका रुपमा परिचित गराउन अग्रसर किसानलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने पौडेलले बताए ।
यो वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भता’ नाराका साथ आज मुलुकभर २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मनाइँदैछ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयानुसार २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन सुरु गरिएको हो ।
असार १५ नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरूले आज दही चिउरा खाएर यो पर्व मनाउने गर्छन् ।
नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक सुनिश्चित गरेको छ । मुलुकभर आज (आइतबार) राष्ट्रिय धान दिवसको रौनक छ ।

























