
काठमाडौं । टेराम्याक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएका छन् ।
प्रमुख प्रतिवादीका रूपमा बस्नेतले विशेष अदालतमा बयान दिन पाउने निवेदन दिएका थिए । उनी उपस्थित भएसँगै विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान लिइँदैछ । बयानपछि थुनछेक बहसको प्रक्रिया अघि बढ्ने बताइएको छ ।
पूर्वमन्त्री बस्नेतले सन् २०१७ तिर नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टेराम्याक्स प्रविधि खरिद गर्ने निर्णय गरेका थिए , जसलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत भएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर भएसँगै बस्नेत प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका छन् ।
अख्तियारको दाबीअनुसार बस्नेतको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक कार्यक्रम र बजेटको छलफलपछि प्रस्ताव मन्त्रालयमा पठाइएको थियो । अर्थशास्त्री विमला पोखरेलको नामबाट सुरु भएको उक्त प्रस्ताव रायसहित उपसचिव, सहसचिव हुँदै तत्कालीन सञ्चार सचिव महेन्द्रमान गुरुङसमक्ष पुगेको थियो ।
त्यसपछि २०७४ भदौ २३ गते मन्त्री बस्नेतले अनुमोदन गर्दै पत्रमा एउटा वाक्य थपेका थिए — ‘इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त इक्युपमेन्ट र सिस्टम सञ्चालन गर्ने ।’ यसै वाक्यकै आधारमा टेराम्याक्स प्रविधि खरिद गरिएको अख्तियारको भनाइ छ ।
सरकारको सिफारिसमा प्राधिकरणले स्रोत सुनिश्चित नगरी, प्रतिस्पर्धा नगरी र आवश्यकता मूल्यांकन नगरी टेराम्याक्स खरिद गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ । उक्त प्रविधिको प्रयोगले भीओआईपी कल बाईपास नियन्त्रण हुने दाबी गरिए पनि सो प्रविधि नेपालमा कामै नगर्ने र विदेशबाट उपलब्ध उपकरणको तुलनामा महँगो दरमा किनिएको समेत अख्तियारको अनुसन्धानबाट खुलासा भएको छ ।
पूर्वमन्त्री बस्नेतसँगै मन्त्रालयका तत्कालीन सचिव महेन्द्रमान गुरुङ, प्रविधिको प्रस्ताव तयार पार्ने अधिकारीहरू, प्राधिकरणका पूर्वअध्यक्ष र अन्य कर्मचारीसमेतलाई प्रतिवादी बनाइएको छ । विशेष अदालतमा आइतबार हुने थुनछेक बहसपछि बस्नेतसहित अन्य प्रतिवादीलाई थुनामुक्त गर्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्ने टुंगो लाग्नेछ ।

























