‘बिपीको समाजवाद र स्थानीय सरकार’ पुस्तकमाथि विमर्श 

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १५, आइतबार २०:०५

विराटनगर । बिपीको समाजवाद र स्थानीय सरकार नामक पुस्तकमाथि आइतबार विराटनगरमा विमर्श गरिएको छ ।

बिपी कोइराला सोसलिस्ट इन्टरनेशनल नेपालको आयोजनामा एलिट क्लबमा भएको कार्यक्रममा पुस्तकमाथि विभिन्न क्षेत्रका विज्ञहरूले आआफ्ना धारणा राखेका थिए ।

प्रा. डा. बलराम पौडेलले अवधारणा प्रस्तुत गरेका थिए । त्यस्तै, पुस्तकमाथि प्रा. डा. भेषप्रसाद धमला, प्राध्यापक कृष्ण पोखरेल, प्राध्यापक महेन्द्र यादव, प्राध्यापक गोविन्द तुम्बाहाङ र प्राध्यापक दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) ले समीक्षात्मक टिप्पणी गरे ।

बिपीले अघि सारेको समाजवादलाई यथार्थमा परिणत गर्नुपर्नेमा वक्ताहरूले जोड दिए । गाउँलाई नै विकासको केन्द्रबिन्दु बनाएर अघि बढे मात्रै समग्र देशको विकास हुने वक्ताहरूको भनाइ थियो ।

बिपी कोइराला सोसलिस्ट इन्टरनेशनलले ७७ वटै जिल्लामा एउटा एउटा गाउँलाई समाजवादमा केन्द्रित गरेर नमुना गाउँ बनाउने कार्य योजनासाथ अघि बढेको अध्यक्ष इन्दिरा थापाले जानकारी दिइन् ।

गत वैशाख १५ गते काठमाडौंमा विशेष समारोहका बीच विमोचन गरिएको पुस्तकमा देखिएका समस्या पहिचान गरी संशोधन गरिने उनले बताइन् ।

पुस्तकलाई नै आधार बनाएर बिपीले देखेको समाजवादको सपना पूरा गर्ने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल, प्राध्यापक कविराज न्यौपाने, प्रा. डा. टुनराज भट्टराई, भूषण ढुंगेल, बुद्धिजीवी दिनेश श्रेष्ठलगायतले पुस्तकका विषयमा आआफ्ना धारणा राखेका थिए । पुस्तकमा विभिन्न क्षेत्रका व्यक्तिहरूको लेख समावेश गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.