
काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध जिल्ला अदालत काठमाडौंमा साइबर अपराधको मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले तयार गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार मुद्दा दर्ता गरेको हो ।
सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार आज मुद्दा दर्ता भएको हो ।
गत जेठ २८ गते पत्रकार पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । पाठकलाई प्रहरीले पक्राउ गरेको छैन ।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।
पाठकले केही समयअघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए । सोही भिडिओका विषयमा उजुरी परेपछि उनीविरूद्ध ब्युरोले पुर्जी लिएको थियो ।
असार ५ गते उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

























