निजामति विधेयकमा प्रचण्डको आपत्ति

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १७, मंगलबार १५:५९

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयकप्रति गम्भीर आपत्ति जनाएका छन् ।

विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको उनले बताए । योङ कम्युनिष्ट लिग,नेपाल (वाईसीएल)को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नहुने उल्लेख गरे ।

छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग उनले गरेका छन् । ‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको छ । आज तपाईंहरूले संघीय निजामति विधेयक पनि हेर्नुभएको छ । त्यसमा षड्यन्त्र भएको छ,’ प्रचण्डले भने, ‘विधेयकमा कसले बदमासी गर्‍यो ? त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।’

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लामो समय छलफल गरेर कर्मचारीलाई अवकाशको दुई वर्षसम्म कुलिङ पिरियड राख्ने व्यवस्थासहितको विधेयक प्रतिनिधिसभामा पेस गरेको थियो। पारित हुँदा ’बाहेक’ भन्ने शब्द राखिएको पाइएपछि चौतर्फी आलोचना सुरू भएको छ।

प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएकाले अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याए । यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा पार्टीले त्यसलाई रोकेको उनले स्मरण गरे । अहिले पनि त्यो प्रवृत्ति जारी रहेको भनेर उनले चिन्ता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.