
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीबाट पठाइएका मन्त्रीको कार्यसम्पादनमाथि प्रश्न उठेको छ ।
साथै, निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरिएको निष्कर्षसमेत बैठकको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानी क्षम्य नहुने बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा पदीय दुरुपयोग गर्नेलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । माथिल्लो सदनमा विधेयक पारित गर्न बाँकी रहेकाले यसअघि भएका सहमति अनुसार नै कार्यान्वयन हुनुपर्ने महतको भनाइ छ ।
सरकारमा नेपाली कांग्रेसको प्रभावकारी उपस्थितसँगै गठबन्धनको विकल्प नभएको उनको भनाइ छ। पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूको काममा सन्तोषजन नभएको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।
संसदभित्र र बाहिर रहेका पार्टीका जिम्मेवार नेताहरूले नै अनुशासनभन्दा बाहिर गएर पार्टीको विपक्षमा अभिव्यक्ति दिने गरेको विषयमा पनि केन्द्रीय सदस्यहरूले ध्यानाकर्षण गराएको उनले बताए । केन्द्रीय समितिको बैठक बुधबार पनि जारी रहने जानकारी महतले दिएका छन् ।
























