
विराटनगर । सुनसरीमा आफैं चढेको स्कुल बसले किचेर १ जना नाबालकको मृत्यु भएको छ ।
गढी गाउँपालिका–६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह ४ः२० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी–३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको हो ।
बसले किचेर गढी–६ का श्रवण उराउको छोरा ३ वर्षीय आयुष उराउको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार स्कुल छुट्टी भएपछि नाबालक त्यही बसेमा चढेर घरतर्फ जाँदै थिए ।
घर छेउमा पुगेपछि ओर्लिने क्रममा अचानक लडेका उनी बसको चक्कामुनि पुगेका थिए । चक्काले टाउकोमा किच्दा नाबालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा छ । बस चालक गढी–३ का अन्दाजी ३१ वर्षीय विनोदकुमार मेहता फरार रहेकाले खोजी जारी राखिएको डीएसपी खतिवडाले बताए ।
चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमल्सिना नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

























