
विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले एशीयाली डेभलभमेन्ट बैंककाे ऋण नलिने बताएका छन् । बिहीबार खानेपानी मन्त्री प्रदीपकुमार यादवलाई पत्र पठाउँदै उनले सप्तकोशीको पानी ल्याउन एडीबीको ऋण नलिने बताएका हुन् ।
प्रमुख साम्पाङले राष्ट्रिय आम्दानीबाट मात्र खर्च गर्न सकेमा योजना अगाडी बढाउन आग्रह गरे । विदेशी ऋणको भारि बोकाउनु देशको हितमा नहुने भन्दै उनले पठाएको पत्रको बाेदार्थ प्रधानमन्त्री कार्यालयलाई पनि दिइएको छ ।
सप्तकोशीबाट धरानमा खानेपानी ल्याउनका लागि आर्थिक वर्ष २०८२–८३ का लागि संघीय सरकारले ४ करोड बजेट विनियोजन गरेको छ । बाँकी रकम एडीबीबाट ल्याउने योजना रहेको सुनेको बताउँदै उनले देशलाई विदेशी ऋणको भारी बोकाउन नहुने उल्लेख गरेका छन् ।
‘३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकन चोटि मन्त्रालय धाएको स्मरण गराउँदै आर्थिक वर्ष २०६२– ०६३ का लागि ४ करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो,’ उनले पठाएको पत्रमा भनिएको छ,‘ तर बाँकीको पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारि बोकाएर उचित हुँदैन ।’
धरानमा एडीबी कै योजनामा भूमिगत खानेपानी आयोजना पनि सञ्चालन भएको थियो । ‘धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडी बढाउनु होला,’ उनले भनेका छन्,‘ अन्यथा हामी आफै खोला खोल्सीको पानी जोडेर गुजारा गरौला भनी जानकारी गराउँदछु ।’

























