पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष निरौलासहित ५ जना सम्मानित 

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २२, आइतबार १९:०६

विराटनगर । मोरङको ग्रामथान –२ झोराहाटको नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले १ जना पत्रकारसहित ५ जनालाई सम्मान गरेको छ ।

झोराहाटमा आइतबार आयोजित कार्यक्रममा झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार एवं नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष विक्रम निरौलालाई प्रदान गरिएको हो । उनलाई नगदसहित सम्मान गरिएको थियो ।

त्यस अवसरमा छात्रपति लुइँटेल निवृत्त शिक्षक सम्मानबाट शिवबहादुर अधिकारी र नारायणबहादुर न्यौपाने सम्मानित भए ।

त्यस्तै, झोराहाट –२ को सरस्वती नमुना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत रोजिना गच्छदार र आयुश खत्वेलाई जेहनदार छात्रवृत्ति प्रदान गरिएको थियो । छत्रपति लुइँटेल स्मृति ग्रन्थ पुस्तकको विमोचनसमेत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीहरूले समाजमा पछाडि परेको समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताए ।

‘लुइँटेल परिवारले यस क्षेत्रमा स्वास्थ्य, शिक्षा एवं विकासमा महत्त्वपूर्ण योगदान गरेकाले उहाँहरूको सम्झनापछि सम्म रहिरहन्छ,’ उनले भने ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष  राजेन्द्र राउत, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, शंकर लुइँटेललगायतले सम्मानपत्र प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.