राज्यमन्त्री चौधरी : हिजो राजीनामा बुझाएनन्, आज बुझाउने

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार ०८:५७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले पदबाट राजीनामा दिने भएका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट मन्त्री बनेका उनले पार्टीको निर्णय अनुसार राजीनामा बुझाउन लागेका हुन् । उनले आइतबार (हिजो) साँझ ५ बजे नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउने तयारी गरेका थिए ।

तर, ओली बेली ब्रिज उद्घाटन गर्न हुम्ला गएको समेतका प्राविधिक कारण देखाउँदै आइतबार राजीनामा बुझाएनन् । सोमबार (आज) बिहान राजीनामा बुझाउने तयारी रहेको नाउपाले जनाएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्री चौधरीले केही समयमा राजीनामा बुझाउने बताइन् । ‘प्रधानमन्त्रीलाई भेट्न सम्भव भयो भने उहाँलाई राजीनामा बुझाउने छौं,’ उनले भनिन्, ‘नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गर्छौं ।’

नाउपा संसदीय दलको शनिबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरको थियो । नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ ।

सरकारमा प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्ने र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.