पूर्वराजा ज्ञानेन्द्र ७९ औँ वर्षमा प्रवेश

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २३, सोमबार १२:१६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन आज (सोमबार) परेको छ । उनी ७९ औँ वर्षमा प्रवेश गरेका छन् ।

ज्ञानेन्द्रको जन्मदिन निर्मल निवासमा धुमधामले मनाउने राजावादीहरूको तयारी छ । उनको जन्म विक्रम संवत २००४ साल असार २३ मा नारायणहिटी दरबारमा भएको हो । उनी तत्कालीन राजा स्वः महेन्द्र र रानी रत्नको माइलो छोरा हुन् ।

राजगद्दीका उत्तराधिकारी नभए पनि ज्ञानेन्द्र आफ्नो जीवनकालमा २ पटक राजा भइसकेका छन् । पहिलोपटक साढे ३ वर्षको हुँदा विसं २००७ सालमा राजा बनेका थिए ।

हजुरबुबा राजा त्रिभुवन छोरा महेन्द्र र अन्य शाही परिवारका सदस्यहरूलाई लिएर भारत शरण लिन गएका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई गद्दीमा बसालिदिएका हुन् ।

२००७ को दिल्ली सम्झौतापछि राणा शासनको अन्त्य भयो र राजा त्रिभुवन नेपाल फर्केर पुनः राजगद्दी सम्हाले । यसरी, ज्ञानेन्द्रको पहिलो शासन २००७ कात्तिक २२ देखि फागुन ७ सम्म चल्यो ।

दोस्रो पटकको गद्दी आरोहण झनै अप्रत्याशित थियो । २०५८ सालमा भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको परिवारै सखाप भएपछि फेरि ज्ञानेन्द्रले नै गद्दी सम्हाल्नु पर्यो । सुरुमा युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो । तर, उनको मृत्यु भएपछि ज्ञानेन्द्र राजा बनेका हुन् ।

तर, उनको बहिर्गमन पनि अप्रत्याशित भयो । २०६१ साल माघ १९ मा ज्ञानेन्द्रले लोकतान्त्रिक सरकार विघटन गर्दै कार्यकारी शासन सम्हालेका थिए । उक्त विवादास्पद कदमपछि २०६२–०६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो र नेपाल गणतन्त्र घोषित भयो ।

राजा ज्ञानेन्द्रले २०६५ जेठ १५ मा नारायणहिटी दरबार खाली गरे र नागार्जुन दरबारमा सरे । त्यसयता उनी पूर्वराजाका रूपमा सामान्य जीवन बिताइरहेका छन् ।

ज्ञानेन्द्र अहिले जनआन्दोलनको बलमा तेस्रोपटक राजा बन्न प्रयासरत छन् । आफुना गतिविधिहरू बढाइरहेका ज्ञानेन्द्रले आफूलाई साथ दिन सार्वजनिक अपिल समेत गरेका थिए । उनको आह्वानपछि राजावादीले आन्दोलन गरे । तर, सफल भएन ।

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनका अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ । बिहानैदेखि निर्मल निवास बाहिर शुभेच्छुकहरू जम्मा हुने क्रम चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.