
धरान । सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज साम्पाङ (हर्कराज राई)ले लेखा शाखाबाट भुक्तानीका लागि तयारी अवस्थामा रहेका ४० भन्दा बढी योजनाका फायलहरू आफ्नो कब्जामा लिएका छन् ।
प्रक्रिया पूरा गरेर भुक्तानीका लागि ठिक्क पारिएका फायल मेयर साम्पाङले लैजाँदा धरानमा प्रशासनिक संकट उत्पन्न भएको छ । रकम भुक्तानीको प्रक्रिया अघि बढाइसकिएको योजनाका फायलहरु साम्पाङले असार १६ गते लेखा शाखाबाट उठाएर लगेका हुन् ।
उपमहानगरपालिकाको लेखा शाखाका अनुसार योजनाका फायलहरूको भुक्तानी रकम झण्डै १० करोड रुपैयाँ बराबरको छ । नगरप्रमुख साम्पाङले फाइलहरू संघीय सरकार, प्रदेश सरकार र सडक बोर्डको सशर्त तथा समपूरक अनुदानमा आधारित योजनाहरूको रहेको अवस्थामा बिना पूर्वसूचना आफूसँग लैजाँदा लेखा शाखाले भुक्तानी प्रक्रिया अघि बढाउन सकेको छैन ।
उपप्रमुख आइन्द्रविक्रम बेघाले नगरप्रमुख साम्पाङमाथि ‘अपहरण शैलीमा’ लेखा शाखाबाट फायलहरु कब्जा गरेर लगेको आरोप लगाएका छन् । उनले भने, ‘सम्पूर्ण अनुगमन र प्राविधिक प्रक्रिया पूरा भइसकेको योजनाको भुक्तानी दिन लेखा शाखामा लगिएका फायल नगरप्रमुखले जबर्जस्ती खोसेर लगेका छन् । यो प्रशासनिक अपहरण हो ।’
धरान–१६ मा रहेको बहुभाषिक पाठशालामा खोलाको कटान रोक्न श्रमदानका नाममा उपभोक्ता समिति बनाएर बिल र भरपाई पेस गरिएपछि विवाद चर्किएको थियो । समितिमा बाहिरका व्यक्तिहरूलाई सामेल गरिएपछि उपप्रमुखले अनियमितताको शंका व्यक्त गर्दै आपत्ति जनाएका थिए । सोही क्रममा मेयर साम्पाङका समर्थकहरूले उपप्रमुखमाथि हातपात प्रयाससमेत गरेका थिए ।
विवाद चुलिएपछि नगरप्रमुख साम्पाङले प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंलाई लेखा शाखाबाट प्रक्रिया रोकिएको विषयमा स्पष्टीकरणसमेत मागेका छन् । तर, चौलागाईंले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । उनले प्रक्रिया पूरा भइ स्वीकृति प्राप्त योजनामा मात्र भुक्तानी गर्ने प्रावधान रहेको बताएका छन् ।
यसैबीच, आइतबार उपप्रमुख बेघासहित २९ जना कार्यपालिका सदस्यहरूले सामूहिक रूपमा नगरप्रमुख साम्पाङको कार्यकक्षमा पुगेर उनको ध्यानाकर्षण गराएका छन् । फायल फिर्ता गरी फरफारकको प्रक्रिया अघि बढाउन माग गर्दै उनीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । कार्यपालिका सदस्यहरूका अनुसार योजनाको काम सम्पन्न भएर पनि नगर प्रमुखले मनोमानी गर्दै भुक्तानी प्रक्रिया रोक्नाले जनतालाई प्रत्यक्ष असर परेको छ ।
तर, नगरप्रमुख साम्पाङले आफूले हेर्न पाउने अधिकार रहेको भन्दै फायल उठाएर हेरेको स्पष्ट पारेका छन् । ‘भुक्तानी दिने अधिकार नगरप्रमुख, उपप्रमुख वा कुनै पनि जनप्रतिनिधिको होइन,’ उनले भने, ‘सबै योजनाको पारदर्शिता सुनिश्चित गर्न मैले फायलहरु हेरिरहेको हुँ । यदि भुक्तानी गर्नुपर्ने हो भने कसैको पक्षमा मात्रै होइन, सबैको हुनुपर्छ ।’
फायल नियन्त्रणको विषयमा उत्पन्न विवादले धरान उपमहानगरको प्रशासनिक गतिशीलता प्रभावित हुनुका साथै विकास निर्माण कार्यमै अवरोध भएको छ । योजनाको भुक्तानी रोकिँदा उपभोक्ता समिति र ठेकेदारहरू मारमा परेका छन् भने आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा रकम फ्रिज हुने खतरा पनि बढेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन र कार्यविधिमा स्पष्ट व्यवस्था हुँदाहुँदै नगर प्रमुख र उपप्रमुखबीचको द्वन्द्वले स्थानीय निकायको कार्यक्षमता, पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ । तत्काल समस्या समाधानको पहल नगरेमा धरान उपमहानगरभित्रको असमझदारीले समग्र विकास प्रक्रियामै अवरोध पुर्याउने गुनासो कार्यपालिका सदस्यहरुको छ ।



















