
रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसबापत लिएको रकमसहित १ जना वडाध्यक्ष र १ जना व्यापारीलाई पक्राउ गरेको छ ।
अख्तियारको बुटवल कार्यालयले घुससहित २ जनालाई नियन्त्रणमा लिएको हो । रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाअध्यक्ष जनार्दन यादव र भैरहवास्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेय पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट घुसबापत लिएको ३ लाख रूपैयाँ बरामद भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार वडाअध्यक्ष यादवले वडामा सञ्चालित विभिन्न योजनाको रकम भुक्तानी सिफारिस गरिदिनका लागि सेवाग्राहीसँग घुस मागेको पाइएको छ ।
घुसबापतको रकम पाण्डेयले बुझेका थिए । घुस रकम बुझेको पाइएपछि वडाध्यक्ष र व्यापारी दुवै जनलाई नियन्त्रणमा लिएर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको अख्तियारले जनाएको छ ।

























