देशभर मनसुन सक्रिय, ४ प्रदेशमा भारी वर्षाको सम्भावना

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २४, मंगलबार ०६:१४

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षा र बदलीको अवस्था बढ्दै गएको हो।

मनसुनको प्रभाव विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा बढी देखिएको छ। ती क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली कायम छ भने बाँकी भू–भागमा आंशिक बदलीसँगै मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा आज (मंगलबार) बिहान चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।

सबै प्रदेशका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ। कोशी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा भारी वर्षा हुन सक्ने भएकाले थप सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार भारी वर्षाको सम्भावनासँगै ती क्षेत्रहरूमा भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिमको सम्भावनासमेत छ। विशेष गरी उच्च भू–भागमा रहने तथा नदी किनारका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मौसमको यो अवस्था केही दिनसम्म यथावत् रहने अनुमान गरिएको छ। मनसुन सक्रिय भइरहने क्रमसँगै विशेष गरी उच्च वर्षा हुने सम्भावित स्थानहरूमा पूर्वतयारी, पूर्वसूचना र सुरक्षामा ध्यान दिन विज्ञहरूले सुझाएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.