
काठमाडौं । रतुवामा बाढीमा परेर बेपत्ता भएका १८ जनाको नामावली सार्वजनिक गरिएको छ । बेपत्ता भएका अधिकांश नेपाली श्रमिकहरु हुन् ।
चीनमा अत्यधिक वर्षा भएसँगै आएको बाढीले बगाउँदा १८ जना बेपत्ता भएका थिए । बेपत्ता हुनेमा ३ जना प्रहरी पनि छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत असई लालबहादुर श्रेष्ठ, जवानहरु मुन्न ठाकुर र लोकेन्द्र बोहोरा रहेका छन् ।
बेपत्ता हुने अन्यमा बर्दिया स्थायी घर भएका जीपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ रहेको प्रहरीले जनाएको छ ।
बाढीले बगाउँदा ६ जना चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् । प्रहरीका अनुसार चिनियाँ नागरिक YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG बेपत्ता भएका हुन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ । प्रहरीका अनुसार मंगलबार बिहानका राति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ ।
सुख्खा बन्दरगाहका ७ वटा ईभी गाडीसमेत बगाएको छ । रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा पनि क्षति पुगेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धारलाई तीव्र पारिएको छ ।
यसैबीच, रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा बाढीले १ सय भन्दा बढी गाडी बगाएको प्रारम्भिक अनुमान छ । बाढीले अधिकांश मालवस्तु बोकेका सवारीसाधन बगाएको नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
बाढीले बगाएर केही पर पुर्याएको अवस्थामा ईभी गाडीहरु भेटिएका छन् । ‘बाढीले यति नै गाडी बगायो भनेर यकिन छैन । तर, १ सयभन्दा बढी गाडी बगाएको अनुमान छ,’ गजुरेलले भने ।
उनका अनुसार भन्सार यार्डमा २ सय ३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडीहरु राति नै माथि सारिएको उनले बताए ।

























