
काठमाडौं । चीनको तिब्बत क्षेत्रमा भएको भारी वर्षापछि आएको बाढीले रसुवामा अत्यधिक क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेकका पूर्वनिर्धारित सबै कार्यक्रमहरू स्थगित गरेका छन् ।
उनले सरकारको तर्फबाट युद्धस्तरमा उद्धार र राहतको काम अघि बढाइएको जानकारी दिए । प्रधानमन्त्री ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा कुनै ढिलासुस्ती नहोस् भनेर स्पष्ट निर्देशन दिएको बताए ।
उनले भने ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ ।’
उनका अनुसार रसुवाको विभिन्न स्थानमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।
बाढीमा परेर ३ जना प्रहरी, ९ जना नेपाली श्रमिक र ६ जना चिनियाँ कामदार गरेर १८ जना बेपत्ता भएका छन् । केहीको ज्यान गएको छ । प्रधानमन्त्री ओलीले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
साथै, विपदका कारण पीडित बनेका सम्पूर्ण नागरिकप्रति सहानुभूति प्रकट गर्दै राज्य सबै नागरिकको सुरक्षामा कटिबद्ध रहेको उल्लेख गरेका छन् । ‘यस दुःखद क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु,’ ओलीले भने, ‘विपद सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ ।’
प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल गृह मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्थानीय सरकारका संयन्त्रहरू उद्धार, सुरक्षाको मूल्यांकन र राहत वितरणका लागि सक्रिय छन् । त्रिशूली नदीमा पानीको बहाव अझै बढिरहेको हुँदा सतर्कता बढाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । उत्तर र मध्य भेगका नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन अपिल गरिएको छ ।
प्रधानमन्त्री ओलीले राहत, उद्धार र पुनःस्थापनाको काममा सरकारी संयन्त्रका साथै नागरिक समाज, राजनीतिक दल र दातृ समुदायलाई समेत सहयोग गर्न आग्रह गरेका छन् । ‘सरकारी निकायहरूले गरिरहेको उद्धारको काममा सबैको सहयोगको अपेक्षा छ,’ उनले भने ।
हाल रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले सडक, पुल र खानेपानी लगायत पूर्वाधारमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम जारी छ । प्रभावितलाई स्थानीय विद्यालय, सामुदायिक भवन र मठमन्दिरहरूलाई अस्थायी शिविर बनाइएको छ ।
प्रधानमन्त्री ओलीले तत्काल राहत सामग्री, खाद्य वस्तु, लत्ता कपडा र स्वास्थ्य सामग्री सुनिश्चित गर्न निर्देशन दिएका छन् । सरकारले विपद व्यवस्थापनका लागि आवश्यक रकम छुट्याउने तयारी अघि बढाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित जिल्लाहरूको समन्वयमा विस्तृत विवरण संकलन कार्य भइरहेको छ ।
रसुवामा उत्पन्न संकटलाई दृष्टिगत गर्दै संघीय सरकार उच्च सतर्क अवस्थामा रहेको ओलीले बताए । बाढीको सम्भावित असर अरू क्षेत्रसम्म नफैलियोस् भनेर जल तथा मौसम विज्ञान विभागले निगरानी बढाएको छ । त्रिशूली, बुढीगण्डकी, भोटोकोसी आसपास तथा अरनिको राजमार्ग क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएका छन् । पीडितहरूलाई साथ र सहानुभूतिको प्रत्याभूतिसमेत दिलाएका छन् ।
यसैबीच, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दैछ। बैठक दिउँसो १ बजे गृहमन्त्रालयमा बस्नेछ।
रसुवामा आएको बाढीका कारण भएको क्षतिबारे छलफल, खोज, उद्दार, राहत र पुननिर्माणबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको गृह मन्त्रालयले जनाएको छ।

























