
काठमाडौं । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवकै सहर वीरञ्जमा खानेपानीको हाहाकार भएको छ ।
पानी नपरेको र बढ्दो गर्मीका कारण असार अन्तिम हुन लाग्दा वीरगञ्जमा पानीको हाहाकार देखिएको हो ।
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १, २, ११, १३, १६, २५, २६ र अन्य केही ठाउँमा खानेपानीको समस्या गम्भीर भएर देखा परेको छ ।
वर्षाको समयमा पनि पानी नपरेको हुँदा जमिन सुख्खा भएकाले पानीको समस्या आएको बताइएको छ ।
सर्वसाधारणले उपयोग गर्दै आएको खानेपानीको मुख्य स्रोतको रुपमा रहेको चापाकलमा पानी आउन छाडेपछि स्थानीय समस्यामा परेका हुन् ।
पानीको सतह तलतिर सर्दै जाँदा चापाकलमा खानेपानी आउन छाडेको हो । चापाकलले पानी तान्न नसकेपछि अत्यधिक गर्मी र सुख्खा मौसममा वीरगंज महानगरका स्थानीयहरु खानेपानीको संकट झेलिरहेका छन् ।
महानगरमा यस वर्षमा मात्रै यो समस्या आएको नभई प्रत्येक वर्षको जेठ र असारमा खानेपानीको संकट हुने गरेको छ ।
महानगरले मात्रै खानेपानीको समस्या समाधान गर्न नसक्ने भएकोले प्रदेश सरकार र संघीय सरकारसँग समन्वयको प्रयास गरिरहेको छ ।
महानगरको विभिन्न ७५ ठाउँमा प्रदेश सरकारको समन्वयमा डिप बोरिङ गरेर खानेपानी उपलब्ध गराइरहेको महानगरका वन, वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख इन्जिनियर राकेश साहले जानकारी दिए ।
उनले संघीय सरकारसँग खानेपानी समस्याको दीर्घकालीन समाधानबारे छलफल र सहकार्य भइरहेको बताए ।
चालु आर्थिक वर्षमा वीरगञ्जमा ६ सयभन्दा बढीले खानेपानीको नयाँ धारा जडान गरेका छन् ।
दैनिक १ करोड लिटर पानी वितरण भइरहे करिब ४० प्रतिशत चुहावट भइरहेको खानेपाली कार्यालयले जनाएको छ ।























