
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवबीच पार्टी एकता गर्ने सहमति भएको छ ।
दाहाल र यादवले महाधिवेशनको बेला एकता गर्ने सहमति गरेका हुन् । पार्टीबाट आपसी समझदारीमै सहअध्यक्ष गंगानारायण समूह माओवादीमा समाहित भइसकेको छ ।
त्यसपछि अध्यक्ष यादवले असार ७ गते पार्टी पुनर्गठन गरेका थिए । केन्द्रीय समितिको निर्णयसहित केही दिनअघि यादवले दाहालसँग छलफल गरी पार्टी एकतामा सहमति जुटाएका हुन् ।
छलफलको क्रममा यादवले एकताका लागि आफू सकारात्मक रहेको स्पष्ट पार्दै उनले पार्टीको नाम, झन्डा, ब्यानर लगायत विषय चाँडै टुंग्याउन आग्रह गरेका थिए । दाहालसँगको कुराकानीमा माओवादीको महाधिवेशनसँगै एकताको विषय टुंग्याउने समझदारी भएको जानकारी यादवले दिए ।
अध्यक्ष यादवले पार्टीको नाम जे राखे पनि महाधिवेशनको निर्णय आफूहरूलाई मान्य हुने बताएका छन् । जवाफमा दाहालले पार्टीको जागरण अभियान सम्पन्न भए लगत्तै केन्द्रीय समिति बैठक बस्ने र त्यसले महाधिवेशनको मिति तय गर्ने बताएको स्रोतको भनाइ छ ।
























