आफ्नै समूहका नेतामाथि कारबाही भएपछि सक्रिय बने शेखर कोइराला, विशालनगरमा आन्तरिक छलफल

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार १०:५९

काठमाडौं । नेपाली कांग्रेसभित्रको इतर अर्थात डा. शेखर कोइराला समूह आन्तरिक छलफलमा जुटेको छ । पार्टीको अनुशासन आयोगले आफू पक्षका नेताहरूमाथि कारबाही गरेपछि कोइरालाले बिहीबार निकटस्थ नेताहरूसँग विशालनगरस्थित सम्पर्क कार्यालयमा आपतकालीन बैठक गरेका छन् ।

अनुशासन आयोगले १८ जना नेता–कार्यकर्तालाई पार्टीविरुद्ध गतिविधिमा संलग्न भएको भन्दै निष्कासनको निर्णय गरेपछि त्यसको प्रतिवाद गर्ने रणनीतिमा कोइराला पक्ष उभिएको छ । कोइराला नेतृत्वको समूहले पार्टीको पछिल्लो निर्णयलाई नियोजित बदनियतपूर्ण आक्रमणको संज्ञा दिँदै त्यसको असर संगठनभित्र गहिरो रूपमा पर्ने चेतावनी दिएको छ ।

बैठकमा सहभागी १ नेताका अनुसार विशालनगरमा जारी छलफल पार्टी नेतृत्वको कार्यशैली, कारबाहीको निष्पक्षता र संगठनभित्र कोइराला पक्षप्रति देखिएको ‘भेदभावपूर्ण’ व्यवहारमाथि केन्द्रित छ । ‘पार्टीमा नेतृत्वको नाममा अहिले आन्तरिक असहमति दबाउने प्रवृत्ति हाबी भएको छ । कारबाही पनि त्यसकै अभिव्यक्ति हो,’ उनले भने ।

पार्टी अनुशासन आयोगको निर्णयअनुसार गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र खोटाङका जिल्ला सभापति विष्णुकुमार राईलाई १ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ । त्यसैगरी कास्कीका पूर्वजिल्ला सभापति कृष्ण केसीलाई ३ महिनाका लागि निष्कासन गरिएको छ ।

बाँकी नेता–कार्यकर्ताहरूमाथि पनि ६ महिना र ३ महिनासम्मका अवधि तोकी कारबाही गरिएको छ । नेपाली कांग्रेसले आफ्नो निर्णय औपचारिक रूपमा सार्वजनिक गर्दै, गत निर्वाचनमा पार्टी र त्यसले समर्थन गरेका उम्मेदवारहरुलाई हराउन भूमिका खेलेको आरोपसहित सम्बन्धित नेताहरूसँग स्पष्टीकरण मागिएको र जवाफ चित्तबुझ्दो नभएकाले कारबाही गरिएको स्पष्ट पारेको छ ।

पार्टीको विधानअनुसार अनुशासन उल्लंघन गर्नेप्रति कारबाही गर्न सकिने व्यवस्था रहे पनि कोइराला पक्ष भने यो प्रक्रिया न्यायोचित नभएको बताउँछ ।कोइराला समूहले कारबाहीको समय, शैली र छानबिनको गम्भीरतामाथि प्रश्न उठाइएको छ । उ

कारबाही हुने व्यक्तिहरू चयन गर्दा नियतपूर्वक गरिएको कोइराला पक्षको दाबी छ । १ नेताले भने, ‘पार्टीभित्र यस्तै किसिमका गुनासो अन्य समूहहरूप्रति पनि आएका छन् । तर, कारबाही कोइराला पक्षमा मात्र केन्द्रित हुनु अन्याय हो ।’

विशालनगरको बैठकमा कारबाहीविरुद्ध सार्वजनिक प्रतिक्रिया दिने, पार्टी केन्द्रीय कार्यसमितिमा पुनरावलोकनको माग गर्ने र आवश्यक परे कानुनी उपचार खोज्ने विषयमा गम्भीर छलफल भएको नेताहरुले बताए । बैठकमा केही नेताहरुले तत्काल प्रेस विज्ञप्तिमार्फत असहमति जनाउनुपर्ने सुझावसमेत दिएका छन् ।

कोइराला समूहका नेताहरू यसअघि पनि पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णयप्रति असहमति जनाउँदै आएका थिए । संगठनभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको भन्दै उनीहरुले पार्टीभित्र आन्तरिक चुनाव, पारदर्शिता र नीति निर्माणमा सहभागिता सुनिश्चित गर्न आवाज उठाउँदै आएका थिए ।

पछिल्लो कारबाहीलाई उनीहरुले कोइराला समूहलाई रोक्ने प्रयासको रुपमा बुझेका छन् । ‘हामीलाई संगठनभित्र निष्क्रिय बनाउने र मनोबल गिराउने प्रयास गरिएको छ,’ बैठकपछि बाहिरिएका १ नेताले भने, ‘तर, हामी अझ सशक्त भएर संगठनभित्र संघर्ष गर्छौं ।’

प्रदेशदेखि केन्द्रसम्म विभिन्न तहमा असन्तुष्टि बढिरहेका बेला यस्तो कारबाही हुनु पार्टी एकतालाई कमजोर पार्ने संकेतका रुपमा हेरिएको छ । पार्टीको भावी रणनीति निर्माण, महासमिति बैठकको तयारी र सरकारमा कांग्रेसको भूमिकाजस्ता विषयमा आन्तरिक बहस चलिरहेको बेला कारबाही गरिएको भन्दै कोइराला समूहले गम्भीर आपत्ति जनाएको छ ।

कोइरालाले विशालनगरको यो बैठकपछि शीर्ष नेताहरु र अन्य असन्तुष्ट समूहहरूसँग पनि परामर्श गर्ने तयारी गरेका छन् । पार्टीको आगामी रणनीतिमा कोइराला समूहको भूमिकाले कांग्रेसभित्र शक्ति सन्तुलनमा नयाँ समीकरणको संकेत दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.