केराको व्यापारबाट आत्मनिर्भर आशा

Share this
749shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ असार २६, बिहीबार १४:४०

विराटनगर । विराटनगरको बरगाछी चोक – जहाँ दिनभरि मानिस तथा सवारीसाधनको चहलपहल थामिँदैन । कोशी राजमार्गमा गाडीको गडगडाहट र रफ्तारसँगै मानिसहरू आफ्ना सपना पछ्याइरहेका हुन्छन् ।

तर, त्यही भिडमा एउटा संघर्षको कथा लुकेको छ । हेर्दा साधारण देखिने १ जना महिला आफ्नो व्यापारिक सपना बोकेर दैनिक बसिरहेकी हुन्छिन् । ५० वर्षीया आशा चौधरी मोरङको तेतरीयाबाट प्रत्येक बिहान सीटी सफारीमा बरगाछी चोक आइपुग्छिन् । सफारीमा ल्याएर छोराले छाडिदिन्छन् ।

आत्मनिर्भरताको जिन्दगी उभ्याउँदै केराको भारी लिएर आउने उनको यो यात्रा कुनै आकस्मिक निर्णयबाट सुरु भएको होइन । घरमा श्रीमान् र छोराछोरी छन् । जीविकोपार्जनका अन्य माध्यम पनि छन् । तर, आशालाई आफ्नै हातको पसिनाले घर चलाउनुको बेग्लै सन्तोष हुन्छ ।

उनले केरा बेचेरै बैंकको किस्ता तिरेकी छिन् । आफूले चाहेका साना सपना पूरा गरेकी छिन् । अनि सबैभन्दा ठूलो कुरा — पैसा आवश्यक पर्दा श्रीमानसँग हात थाप्नु परेको छैन । हरेक दिन घरभित्र आफैं निर्णय गर्ने स्वतन्त्रता कमाएकी छिन् ।

‘घरभित्र बसेर अरूको मुख ताक्नुभन्दा राम्रो आफैं केही गर्नु हो,’ आशा भन्छिन्, ‘बिहान बेलुका कोहीलाई दोष नदिइ आफूले गरेको मिहिनेतको फल खाउँदा जुन आनन्द मिल्छ । त्यो सामान्य कुरा होइन ।’ तर, उनको यो आत्मनिर्भरताको बाटो सहज थिएन ।

केराको भारी लिएर बेच्नलाई बरगाछी चोकमा बस्दा कहिले घामसँग जुध्नुपर्छ, कहिले वर्षाको भेलदेखि महानगरपालिकाको धरपकडसँग । भिडभाड र ट्राफिक व्यवस्थानको नाममा महाननगर प्रहरीले कहिलेकहीँ सामान उठाएर लैजान्छ ।

महानगरको नगर प्रहरीले ‘व्यवस्था’को नाममा सडक खाली गराउने भन्दै केरा उठाउँदा उनी त्यसो नगर्दा अनुनय विनय गर्छिन् । ‘पहिलो पटक भएकोले जरिबाना लिएनन् । अब फेरि त्यस्तो भयो भने जरिबाना तिर्नुपर्छ रे,’ उनी सुनाउँछिन् ।

आशाको काम बिहान ६ बजेदेखि सुरु हुन्छ । कहिले आफैँ पुगेर कानेपोखरी, गछिया, गोठगाउँजस्ता ठाउँबाट ताजा केरा ल्याउँछिन् । केरा छानेर र सजाएर ग्राहकसामु पुर्याउँछिन् । तर, अहिलेको बजार पहिलेजस्तो सहज छैन । ‘हिजोआज केराको व्यापारी धेरै भइसके । प्रतिस्पर्धा त धेरै छ,’ उनी भन्छिन्, ‘तर, मलाई थाहा छ । ग्राहक फर्केर आउँछन् ।’

त्यसो त पछिल्लो समय आशाको व्यापार स्थिर बनेको छैन । मूल्य घटबढले कहिले नोक्सान बेहोर्नुपर्छ । कहिले बिक्री नै रोकिएजस्तो लाग्छ । तर, आशा हार मान्दिनन् । ‘गाउँको माटोले हुर्किएको मान्छे हुँ । पसिना बगाएर कमाउने बानी परेको छ,’ उनी भन्छिन्, ‘त्यही संघर्षले त अगाडि बढ्न हौसला दिन्छ ।’

केरा व्यापारले आशालाई मात्र होइन, उनका छोराछोरीलाई पनि आत्मनिर्भर बन्न सिकाएको छ । आमाको व्यापारलाई छोराले सघाउँछन् । घरभित्र सबैले आआफ्नो काम गर्छन् । ‘हामी कसैको मुख ताकेर बस्दैनौं,’ उनी भन्छिन्, ‘कसैको दया होइन, आफ्नै मिहिनेतमा बाँच्नुपर्छ भन्ने जीवनबाट सिकेका छौं ।’

जीवनले आशालाई धेरै मोड देखाएको छ । ‘तर आफैं कमाएर खाने बानी हुँदा दुःख पनि मिठो लाग्छ,’ उनी भन्छिन्, ‘नाफा मात्रै हैन, आत्मगौरव पनि पाइन्छ ।’

उनले व्यापार सँगसँगै घरको चुलो, छोराछोरीको पढाइ, स्वास्थ्यको हेरचाह र समाजसँगको सम्बन्ध सबै सन्तुलनमा राखेकी छिन् । अनेक समस्याका बाबजुद पनि उनले आफ्नो केरा व्यापारलाई निरन्तरता दिइरहेकी छन् । ‘सडकमा जोखिम त छ । तर, घरभित्र थुनिएर बस्न सक्दिनँ,’ उनी भन्छिन् ।

आशा घरभित्रै थुनिएर बस्न नचाहेकी महिला हुन् । उनको संघर्ष कुनै ‘ठूलो सफलता को गाथा होइन । तर, लाखौं नेपाली महिलाहरूका लागि प्रेरणा हो । यदि इच्छाशक्ति भएर परिश्रम गर्दा सानो व्यवसायले पनि ठूलो आत्मगौरव दिनसक्छ भन्ने उदाहरण हुन्, उनी । आशाको अनुहारमा पसिनासँगै गर्वको चमक छ ।

बरगाछी चोकमा गाडीका आवाजहरू जति गड्याउँछन्, त्यत्तिकै गहिराइमा आशाको आत्मविश्वास पनि गुन्जिन्छ । जहाँ प्रत्येक दिन केरा बेचेर उनी आफ्नो आत्मनिर्भरताको गाथा लेखिरहेकी छन् । घरी घरी उनलाई जीवन सोचेजस्तो सजिलो लाग्दैन । तर, आफ्नै हातको कमाइमा जुन आनन्द भेट्छिन् । त्यो कतै नभएको हास्दै सुनाउँछिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.