
विराटनगर । मोरङको रंगेली नगरपालिका –९ स्थित पोखरीमा डुबेर बिहीबार दिउँसो बालकको मृत्यु भएको छ ।
धनपालथान–६ दादरबेरियाका सञ्जय विश्वकर्माका छोरा १० वर्षीय प्रशान्त विश्वकर्माको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार प्रशान्त रंगेली –९ बेल चोकस्थित मामाघरमा पाहुना गएका थिए ।
पाहुना गएका उनलाई मामाघरनजिकैको सुवास राजवंशीको पोखरीमा डुबिरहेको अवस्थामा दिउँसो २ बजेतिर फेला पारिएको थियो । स्थानीयले घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल लगेका थिए ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी चुँडालले बताइन् । उनका अनुसार खेल्ने क्रममा बालक पोखरीमा खसेको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























