कोशीमा मन्त्री फेर्ने गृहकार्य

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार १८:४५

विराटनगर । कोशी प्रदेशमा मन्त्री फेर्ने गृहकार्य सुरु भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सरकार गठन गर्दा भएको सहमति अनुसार प्रदेशमा मन्त्री फेर्ने गृहकार्य भइरहेको हो ।

नेताहरुका अनुसार कांग्रेस–एमाले गठबन्धनको सरकार निर्माण गर्दैगर्दा कोशीमा १३–१३ महिनामा मन्त्री फेर्ने सहमति थियो । प्रदेशमा कांग्रेस एमालेको सरकार गठन गर्ने सहमति भएको साउनमा १ वर्ष पुग्दैछ ।

केन्द्रमा बनेको समीकरण अनुसार प्रदेशमा २०८१ साउन १२ गते कांग्रेसले सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको थियो । तर, आन्तरिक किचलोका कारण निर्णय गरेको ४० दिनपछि भदौ २८ गते कांग्रेसबाट ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त भएका थिए । त्यसबेला १ मन्त्री र १ राज्यमन्त्री पाए पनि शेखर कोइराला समूहले भने नाम दिएको थिएन ।

तत्कालका लागि मुख्यमन्त्री भने एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नै रहने छन् । कोशीमा कांग्रेसबाट भूपेन्द्र राई, खगेनसिं हाङगाम, सदानन्द मण्डल र एमालेबाट रेवतीरमण भण्डारी, रामबहादुर मगर, पाँचकर्ण राई र एकराज कार्की मन्त्री छन् । राज्यमन्त्रीमा कांग्रेसबाट भूमिप्रसाद राजवंशी र एमालेबाट सृजन राई छन् ।

पूर्वसहमति अनुसार नियुक्त भएका मन्त्रीको अवधि पुगेका कारण फिर्ता बोलाउने विषयमा दुवै दलभित्र छलफल सुरु भएको छ । यसरी मन्त्री फिर्ता बोलाउँदा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीबाहेकका मन्त्री फिर्ता हुने छन् । भण्डारी मन्त्री बनेको ८ महिना मात्रै पुग्दैछ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार सरकारमा सहभागी मन्त्रीका विषयमा दलभित्र अनौपचारिक रुपमा छलफल सुरु भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा पनि मन्त्री फेर्ने विषयले प्रवेश पाएको थियो । केन्द्रीय सदस्य भीम पराजुलीले ‘पर्फमेन्स’ राम्रो नभएका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने माग गरेका थिए ।

मन्त्री फिर्ता बोलाउने विषयमा एमालेभित्र पनि छलफल भइरहेको छ । ‘कांग्रेसले छलफल सुरु गरेको छ । यसले पार्टीभित्र स्वभाविक रुपमा प्रभाव पर्छ,’ एमालेका १ सांसदले भने, ‘मन्त्री फेर्दा कांग्रेस एमालेको एकैपटक हुन्छ ।’

नेताहरुका अनुसार १ पटक नियुक्त मन्त्रीलाई १ आर्थिक वर्षको बजेट खर्च गर्न दिने र त्यसपछि परिवर्तन गर्ने सहमति थियो । एमाले प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो मन्त्रीमण्डल फेरबदलको विषयमा बाहिरी हल्ला सुनिरहेको बताउँछन् ।

तर, यो विषयले दलको बैठकमा प्रवेश नपाएको उनले बताए । ‘मन्त्रीमण्डल हेरफेरको विषय चर्चामा छ । तर, दलमा औपचारिक छलफल सुरु भएको छैन,’ उनले भने, ‘निकट भविष्यमा बस्ने बैठकमा छलफल हुनसक्छ ।’ उनले दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छलफल गरेर सरकारका विषयमा प्रक्रिया अघि बढाउने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.