
विराटनगर । आज (शुक्रबार) विश्व जनसंख्या दिवस हो। संयुक्त राष्ट्र संघको आवह्रानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ।
राष्ट्र संघका अनुसार विश्वको जनसंख्या १ अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २ सय वर्षमा विश्वको जनसंख्या ७ गुणाले बढ्यो। सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो भने २०२१ मा यो ७ अर्ब ९० करोड पुगेको छ।
जनसंख्या निरन्तर वृद्धि भइरहेको छ। सन् २०३० मा ८ अर्ब ५० करोड, २०५० मा ९ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ।
जनसंख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ। विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ।
राष्ट्र संघीय जनसंख्या १४ देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ।
यो दिवसका अवसरमा मन्तव्य व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले निष्पक्ष, शान्तिपूर्ण र आशाले भरिएको विश्व निर्माण गर्न युवालाई साथ दिनुपर्नेमा जोड दिएका छन्।























