
काठमाडौं । वामपन्थी एकताका लागि भनेर लामो समयदेखि अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतम अन्ततः नेकपा (एकीकृत समाजवादी) पार्टीमा जाने भएका छन् ।
नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतम अब माधवकुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादीमा समाहित हुने पक्का भएको हो । एक समय नेकपा (एमाले)को उपाध्यक्ष, उपप्रधानमन्त्री र गृहमन्त्री जस्ता जिम्मेवारी सम्हालेका गौतमले नेकपा एसमा मिसिएर आफ्नो राजनीतिक यात्रालाई अघि बढाउने भएका हुन् ।
साउन २ गते राजधानीको राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरी औपचारिक र सार्वजनिक रूपमा एकता घोषणा गरिने कार्यक्रम तय भएको छ। त्यो दिन नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको पार्टी एकता सार्वजनिक रूपमा घोषणा गरिने भएको हो ।
एकतासम्बन्धी सहमति पत्रमा बामदेव गौतम र माधव नेपालले हस्ताक्षर गरेका छन् । दुवै नेताले हस्ताक्षर गरेको सहमति पत्रमा लेखिएको छ ‘हामीबीच राजनीतिक सिद्धान्त र विचारमा समानता छ। नेपालमा वाम आन्दोलनको सुदृढीकरण, विघटन, भ्रमको अन्त्य र सशक्त वामपन्थी ध्रुवीकरणको ऐतिहासिक आवश्यकता महसुस गर्दै हामी पार्टी एकता गर्दैछौँ।’
एमाले र नेकपा (माओवादी केन्द्र)बीच २०७५ मा भएको पार्टी एकता सर्वोच्च अदालतले बदर गरेपछि गौतम न एमालेमा फर्किए, न त माओवादी केन्द्रमा गए । बरु २०७८ पुस २५ गते ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेर आफ्नै ‘प्लेटफर्म’ सञ्चालन गर्नतिर लागे । त्यस अवधिमा उनले वाम दलका नेताहरूसँग संवादको पहल गरे । तर, नेतृत्व पाउने निश्चितता नहुँदासम्म गौतमले कुनै पनि पार्टी रोज्न चाहेनन्।
सुरुमा उनी एमालेमै फर्किने तयारीमा थिए। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाले गर्दा त्यो बाटो बन्द भयो। त्यसपछि उनले माओवादी र एकीकृत समाजवादीका नेताहरूसँग पनि नियमित सम्वाद गरे। उनले भनिरहन्थे ‘जहाँ अध्यक्ष पद पाउँछु, त्यतै जान्छु।’ तर, अब उनले त्यो चाहना पर राखेर माधव नेपालको नेतृत्व स्वीकार्दै पार्टी एकता गर्ने भएका छन् ।
स्रोतका अनुसार एकीकृत समाजवादीभित्र नयाँ संरचना तयार गर्दा वामदेव गौतमलाई तेस्रो वरियतामा राख्ने सहमति बनेको छ। अध्यक्षमा माधव नेपाल, सम्मानित नेताको भूमिकामा झलनाथ खनाल र त्यसपछि गौतम रहने बताइएको छ ।गौतमपछि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई राख्ने प्रस्ताव प्रारम्भिक छलफलमा अघि सारिएको छ।
यो राजनीतिक घटनाक्रम माधव नेपालको पक्षमा पनि बलियो रणनीतिक फड्को भएको विश्लेषण गरिएको छ । गौतमको आगमनले नेपाल पक्ष झन बलियो हुने देखिन्छ।
गौतमको पछिल्लो निर्णयलाई धेरैले लामो समयदेखिको अन्योलको अन्त्यका रूपमा हेरेका छन्। पार्टीहीन यात्राको अन्त्य गर्दै दलभित्र औपचारिक रूपमा समाहित भएका गौतमको राजनीतिक यात्रामा नयाँ अध्यायले ल्याउने परिणाम भने भविष्यले देखाउने छ ।
यस्तो छ सहमति पत्र

























