
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध झण्डै १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा अर्को मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै जनही १५ करोड ८८ लाख रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरेको हो । मुद्दामा पौडेलसँगै केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल कम्पनीका अध्यक्ष अरुण श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।
उनीहरूमाथि सूचना प्रविधि केन्द्रमा उच्च कम्प्युटिङ पूर्वाधारका नाममा गुणस्तरहीन प्रोसेसरयुक्त स्टोरेज आपूर्ति गरेर १५ करोड ८८ लाख रुपैयाँ बराबरको भुक्तानी लिने र दिने कार्य गरी भ्रष्टाचार गरेको अभियोग छ । आयोगका अनुसार २०७६ साल माघ १५ गते भ्याटसहित ३० करोड ६५ लाख रुपैयाँमा स्टोरेज खरिद गर्न बोलपत्र स्वीकृत गराइएको थियो । यस्तै, प्रारम्भिक लागत अनुमान ३० करोड ९९ लाख रुपैयाँको तय गरिएको थियो ।
खरिद गरिएका स्टोरेजमा पूर्व सम्झौता अनुसारको प्राविधिक गुणस्तर नपुगेको पाइए पनि कर्मचारी र आपूर्तिकर्ताबीच मिलेमतोमा भुक्तानी गरिएको थियो । मुद्दामा उल्लेख भएअनुसार सो उपकरणमा प्रयोग भएको प्रोसेसर अपेक्षित क्षमताको थिएन । तर त्यही आधारमा ठेक्का कार्य सम्पन्न गरिएको देखिएको छ ।
यसअघि पनि पौडेलमाथि भ्रष्टाचारकै अन्य मुद्दाहरू दायर भइसकेका छन् । आरआईएससी र एचसीआई सर्भर खरिदमा उनले ३ अर्ब १४ करोड रुपैयाँ र सुरक्षा तथा नेटवर्क उपकरण खरिदमा ३ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
त्यसबाहेक, नेपाल टेलिकमको प्रबन्ध निर्देशक रहेका बेला बिलिङ प्रकरणसम्बन्धी अर्को भ्रष्टाचार मुद्दा पनि हाल विशेष अदालतमा विचाराधीन छ ।

























