
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाका आगलागीबाट पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ।
संघीय लिम्बुवान सामाजिक मञ्च युएई र किरात याक्थुङ चुम्लुङ युएईको संयुक्त पहलमा युएईमा बसोबास गरिरहेकाहरुबाट संकलित रकम हस्तान्तरण गरिएको हो। २०८१ साल चैत्र २१ गते कुम्मायकका विभिन्न ठाउँका जंगलमा आगलागी हुदाँ ठूलो जनधनको क्षति भएको थियो।
उक्त आगलागीबाट २ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भीर घाइते भएका थिए । घरहरु जल्नुका साथै पशुचौपाय पनि मरेका थिए । पीडित परिवारलाई संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भीम अधिकारी थक्साङ र किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल लावतीको संयोजनमा रोजगारीको सिलसिलामा युएईमा रहेका ३८ जना नेपालीबाट १ लाख ५३ हजार ३८ रूपैयाँ सहयोग जुटेको थियो ।
उक्त रकम कुम्मायक–१, ३ र ५ का आगलागी पीडित १४ परिवारलाई कुम्मायक गाउँपालिकाका प्रवक्ता एवं १ नम्बरका वडाध्यक्ष देवेन्द्रकुमार लावतीमार्फत हस्तान्तरण गरिएको हो । आगलागीमा ज्यान गुमाएकी कुम्मायक—३ की नीरमाया लावती सम्बाहाम्फे र प्रतीमा सम्बाहाम्फेका परिवारलाई ३५ हजारका दरले प्रदान गरिएको छ ।
घाइतेमध्ये खगेन्द्र विक, सपना सम्बाहाम्फे र सिवाना सम्बाहाम्फेलाई १०–१० हजार रूपैयाँ सहयोग गरिएको वडाध्यक्ष लावतीले बताए । अरु पीडितलाई क्षतिको आधारमा सहयोग रकम हस्तान्तरण गरिएको छ।
कुम्मायक–३ तम्राखुस्थित जंगलमा घाँस काटन गएका बेला २०८१ साल चैत २१ गते लागेको आगोमा परेर घाइते भएका २५ वर्षीया प्रतीमा सम्बाहाम्फे र ७० वर्षीया नीरमाया लावती सम्बाहाम्फेको मृत्यु भएको थियो । प्रतीमाको धरान र नीरमायाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो ।


























