
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)का कारण मुलुकमा वामपन्थी एकता हुन नसकेको बताएका छन् ।
नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह एमाले भए पनि एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित भएको बताए । चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले एमालेले नै अरू सबैलाई एकताबद्ध गर्न जरुरी रहेकोमा जोड दिए ।
खनाल एमालेका पूर्वअध्यक्षसमेत हुन् । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठूलो मात्राको वामपन्थी एकता हुने उनको भनाइ छ । ‘अहिले नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै हो,’ उनी भन्छन्, ‘अनि त्यो समूहले नै अरू सबैलाई एकताबद्ध गर्नुपर्छ ।’
एमाले नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको बताउँदै खनालले भने, ‘एमालेले वामपन्थी एकता गरौँ भनेर चाहने हुने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना छ ।’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको खनालले बताए ।
























