‘चलचित्र ‘चेः’ लासको कथा हो’

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २८, शनिबार १६:१४

काठमाडौंको चावहीलस्थित चलचित्र विकास बोर्डको सभाहलमा असार ६, ७ र ८ गते सम्पन्न पाँचौं आदिवासी जनजाति चलचित्र महोत्सवमा लिम्बू कथानक चलचित्र ‘चेः’ले सर्वोकृष्ट चलचित्रको अवार्ड जित्यो ।

महोत्सवका लागि यसपल्ट नेपालसहित ३ देशका १९ वटा लामाछोटा चलचित्र एवं वृत्तचित्र छनोट भएका थिए । ‘चेः’ कै लागि निर्देशक सागर केरुङले वेष्ट निर्देशकको अवार्ड पनि जिते । निर्देशक केरुङसँग चलचित्र ‘चेः’ र आदिवासी जनजाति मातृभाषी चलचित्रको अवस्थाबारे मुलुकी खबरले गरेको कुराकानीः

१, सर्वोकृष्ट चलचित्र र उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गर्नुभएकोमा यहाँलाई बधाई छ ।

– धन्यवाद । हाम्रो याक्थुङ समुदायलाई पनि बधाई ।

२, महोत्सवले मातृभाषि चलचित्रको प्रवर्धनमा कत्तिको सहयोग पुर्याएको छ ?

– आदिवासी जनजाति मातृभाषी चलचित्रहरुलाई विश्वबजारसम्म पुग्न वातावरण सिर्जना गर्दैछ ।

३, तपाईंको चलचित्रले अवार्ड प्राप्त गर्यो । स्वयं तपाईंले पनि निर्देशक तर्फको अवार्ड प्राप्त गर्नुभयो, यसरी अवार्ड प्राप्त गर्दा कस्तो अनुभूति हुँदो रहेछ ?

– हाम्रा चलचित्रहरुले अथवा मैले काम गरेका चलचित्रहरुले पहिले पनि थुप्रै ववार्ड प्राप्त गरेका छन् । त्यसैले यो पहिलो होइन । तथापि हाम्रो समुदायले बोल्ने भाषा र हाम्रो समुदायको कथावस्तु समेटिएको चलचित्रले सर्वोकृष्ट चलचित्रको अवार्ड जितेकोमा खुसी लागेको छ । यसले थप सशक्त कामहरु गर्ने उत्साह थपेको छ ।

४, चलचित्र ‘चेः’ले के विषयलाई उठाएको छ ? यो चलचित्रको मुख्य सन्देश के हो ?

– यो लासको कथा हो । अर्थात् नेपालमा याक्थुङ (लिम्बू)हरु आन्तरिक र बाह्य रुपमा कसरी लाससरह भइरहेका छन् भन्ने विषय हो । याक्थुङहरु आफ्नो मातृभूमिको संरक्षण नगरेर आफ्नै लास राख्ने समाधिस्थलविहीन हुँदैछन् भन्ने सन्देश यो फिल्मले बोकेको छ ।

५, याक्थुङ मातृभाषामा बनेको चलचित्र ‘चेः’ यो समुदायको बाहुल्यता रहेको पूर्वमा प्रदर्शन भएको छैन । यसलाई कहिले, कहाँ–कहाँ, कसरी प्रदर्शन गर्ने योजना छ ?

– भाषा, लिपी, संस्कृति संरक्षण र अधिकारको आन्दोलनमा पनि समय दिनु परेकाले पूर्वमा यसको प्रदर्शन गर्न ढिलाइ भइरहेको छ । निकट भविष्यमै पूर्वका विभिन्न बजारहरुमा ‘चेः’ को प्रदर्शन गर्ने योजना छ । तत्काललाई हङकङ, कोरिया, यूके र अमेरिकामा प्रदर्शन हुँदैछ ।

६, तपाईं विगत डेढ दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ । मातृभाषि चलचित्र क्षेत्रका मुख्य समस्या र चुनौतीहरु के–के छन् ?

– थुप्रै समस्याहरु छन् । उस्तै चुनौतीहरु पनि छन् । आदिवासी जनजाति, मातृभाषी चलचित्रहरुको प्रवर्धन र विकासमा राज्य गैरजिम्मेवार छ । आदिवासी जनजाति मातृभाषी चलचित्रलाई यी समस्या र चुनौतीहरुबाट माथि उठाउन हामी निरन्तर लागिपरेका छौं ।

७, तपाईंको विचारमा यी समस्याहरुको समाधानका लागि राज्य पक्ष र अन्य सम्बद्ध पक्षले के गर्नुपर्छ ?

– राज्यले अहिलेको चलचित्र विधेयक, २०८२ लाई संशोधन गरी आदिवासी जनजाति चलचित्रकर्मीहरुको अधिकार सुनिश्चित गर्नुपर्दछ । एक स्वतन्त्र आदिवासी जनजाति मातृभाषी चलचित्र विकास बोर्ड स्थापना गर्नुपर्छ ।

८, तपाईंका आगामी योजना के–के छन् ?

– मेरो भन्दा पनि हाम्रो महत्वाकांक्षी सामुदायिक योजनाहरु छन् । जसको नेतृत्व गरिरहेको छु । आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरुको भाग्य भविष्य सुनिश्चित गर्दै हाम्रो उत्पादनलाई विश्वबजारसम्म पुर्याउने प्रयत्न र पहल निरन्तर गरिरहेको हुने छु ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.