
विराटनगर । मोरङको बूढीगंगामा सडेर दुर्गन्धित भएको अवस्थामा शनिबार अपरान्ह महिलाको शव फेला परेको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार किरा परेको अवस्थामा दिउँसो ४ बजेतिर शव भेटिएको हो । बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा शव फेला परेको जानकारी उनले दिइन् ।
दुर्गन्ध फैलिएसँगै गएर हेर्दा शव देखेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धान अधिकारीसहितको टोली लिएर मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफैं घटनास्थल पुगेका थिए ।
‘सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो । अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेको छ । पहिचान गर्न सक्ने अवस्थामै छैन । लगाएका कपडाको आधारमा शव महिलाको हो भनेर यकिन गरिएको छ,’ डीएसपी चुँडालले भनिन् । शव भेटिएको स्थान वरपर दुर्गन्ध फैलिएको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई विराटनगरको कोशी अस्पताल लगेको छ । घटनाको अनुसन्धान अघि बढाउँदै शवको पहिचानको प्रयास भइरहेको चुँडालले बताइन् ।

























