
काठमाडौं । कपिलवस्तुमा आइतबार बिहान बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै बिहान ४ बजेतिर बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाडौँदेखि दाङतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ००४५ नम्बरको बस पल्टिँदा घाइते भएका २९ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि बुटवल पठाइएको छ ।
अन्य घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।























