
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्रको असन्तुष्टि गहिरिँदै जाँदा उक्त विवाद निर्वाचन आयोगमा पुगेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको पछिल्ला निर्णयहरूलाई विधानविपरीत र मनोमानी भन्दै संस्थापनइतर समूह आयोगको शरणमा पुगेको हो । पूर्वअध्यक्ष एवं निर्देशन समिति प्रमुख डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशम्शेर राणा र अनुशासन समितिबाट हटाइएका राजावादी आन्दोलन संयोजक नवराज सुवेदीसहितका नेताहरू आइतबार आयोगमा उपस्थित भएर छलफलमा जुटेका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न इतर पक्षको भेलाले अध्यक्ष लिङ्देनको गतिविधिप्रति आपत्ति जनाउँदै आयोगमा जाने निर्णय गरेको थियो । भेलामा सहभागी नेताहरूले लिङ्देनले पार्टीको विधान मिचेर निर्णय गर्दै आएको, संस्थागत संरचना बाइपास गर्दै मनपरी ढंगले नेताहरूलाई कारबाही गर्ने र पदबाट हटाउनेजस्ता काम गरिरहेको आरोप लगाएका थिए ।
लिङ्देनले केही दिनअघि मात्र पार्टी प्रवक्ता सगुन सुन्दर लावतीलाई पदमुक्त गरेका थिए भने अनुशासन समिति संयोजकबाट नवराज सुवेदीलाई हटाएर रोशन कार्कीलाई नियुक्त गरेका थिए । यी दुवै निर्णयलाई इतर समूहले ‘एकलौटी’ र ‘अवैधानिक’ भनेको छ ।
‘विधान अनुसार केन्द्रीय समितिबाट प्रस्ताव पारित नगरी कसैलाई हटाउन पाइँदैन । तर, अध्यक्षले आफ्नो मनपरी शैलीमा निर्णय गर्दै आइरहेका छन्,’ आयोगमा पुगेका १ नेताले भने ।
राणा–लोहनी पक्षले पार्टीको लोकतान्त्रिक प्रक्रिया मिचिएको दाबी गर्दै लिङ्देनलाई कुनै १ पक्षको अध्यक्ष नभएर सम्पूर्ण पार्टीको अध्यक्ष बन्न आग्रह गरेका छन् । तर, लिङ्देनले भने यस्ता आरोपहरूलाई गम्भीर रूपमा नलिएको जनाएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएको उजुरीमाथि अब के प्रतिक्रिया आउँछ भन्ने चासो पार्टीका कार्यकर्तामाझ बढेको छ । राप्रपाको आन्तरिक विवाद सार्वजनिक हुँदै जाँदा पार्टीको साख र संगठनात्मक स्थायित्वमा गम्भीर असर पर्ने संकेत देखिन थालेको छ।
























