
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर हराएका नेपालीहरूको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठक प्रारम्भ हुनासाथ रास्वपाका सांसदहरू उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद सुमना श्रेष्ठलाई बोल्ने समय दिएका थिए । सांसद श्रेष्ठले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्, ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौँ ।’
उनले स्पेनको सेल्भिस घटनालाई उदाहरण दिँदै मानव तस्करीको समस्या झन स्पष्ट भएको उल्लेख गरिन् । उनका अनुसार स्पेनजस्तो मुलुकमा नेपाली नागरिकहरू बिचौलियामार्फत भिजिट भिसामा लगिएको र फर्कन नसकेको घटना नेपालीहरूको असुरक्षाको ज्वलन्त प्रमाण हो ।
श्रेष्ठले संसदको गरिमालाई चुनौती दिनेगरी खुलमखुला मानव तस्करी भइरहेको आरोप लगाइन् । ‘सबैभन्दा दुखको कुरा त के हो भने सदनमै आन्दोलन चलिरहेको बेलामा पनि बिचौलियाहरू न डराइरहेका छन् । न लाज मानिरहेका छन्,’ उनले भनिन्, ‘सदनको गरिमा निलो रिबनमा होइन । यस्ता विषयमा कति गम्भीरतापूर्वक छलफल हुन्छ भन्नेमा निर्भर गर्छ ।’
उनले प्रधानमन्त्री ओलीसँग सोधिन्, ‘कसको अकर्मण्यताका कारण यस्ता तस्कर र बिचौलियामा यस्तो आट पलाएको हो ? देशको उच्चतम निकायको गरिमा खसाल्ने जिम्मा कसले लिएको हो ?’ श्रेष्ठले २०७८ साल फागुनमा सरकारद्वारा गठित भिजिट भिसा र सोबाट उत्पन्न समस्या तथा समाधानका उपाय सम्बन्धमा कार्यदलको प्रतिवेदनलाई स्मरण गराउँदै त्यसमा गृह मन्त्रालयको कुनामा थन्किएको आरोप लगाइन् ।
उनले अहिलेको अवस्था पनि त्यही पुरानो लापरबाहीको परिणाम भएको दाबी गरिन् । ‘कोभिडपछि दुबईमा नेपालीहरूको भिजिट भिसामा बिचल्ली भएको बेला पनि यस्तै कार्यदल बनेको थियो । अहिले पनि फेरि उस्तै सहसचिवहरूको जम्बो टोली बनाइएको छ । तर, परिणाम छैन,’ उनले भनिन् ।
मानव तस्करीको जालो राजनीतिक र प्रशासनिक संरक्षणमा चलिरहेको आरोप लगाउँदै श्रेष्ठले यसका लागि अब उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग राखिन् । उनले यस विषयमा सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताइन् ।
यसैबीच, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुखले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि रास्वपा सांसद श्रेष्ठले बोल्ने समय पाइन् ।
सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए । श्रेष्ठ र शाहीले बोलेपछि दुवै दलका सांसदहरू संसद बैठक कक्षबाट बाहिरिएका थिए ।
























