मन्त्रीको ‘घुस डिल’ बारे प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २९, आइतबार १५:०२

काठमाडौं । वर्तमान सरकारका मन्त्री घुस विवादमा मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा माग गरेको छ ।

कर्मचारी सरुवामा मन्त्रीबाटै घुस डिल भइरहेको अडियो सार्वजनिक भएपछि जवाफ मागेको हो । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाख डिल गरेको भन्ने समाचारहरू बाहिर आइरहेका छन् । यो विषयमा के भएको हो ?,’ पूर्वमन्त्री समेत रहेकी शर्माले भनिन्, ‘सम्मानीय प्रधानमन्त्रीज्यूलाई संसद्‍मा जानकारी गराउन अनुरोध गर्न चाहान्छु सभामुख मार्फत् ।’

यसको छानबिन गरेर दोषी जोसुकै होस् उसमाथि कडाभन्दा कडा कारबाही गरियोस् भनेर माग पनि उनले गरिन् । ‘अन्यथा सरकारको एक वर्षको उपलब्धि यही हुनेछ भन्ने कुरा पनि राख्न चाहान्छु,’ शर्माले भनिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद सदस्यको विषयमा प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ ।

‘मन्त्रिमण्डलको अर्को काण्ड – कास्कीको कार्यालयमा को पठाउनेमा सेटिङ – घुस, जिल्लाको भूमि आयोगको अधक्ष्यहरु मा सेटिङ – किन भूमि विधेयक फास्ट ट्र्याक गर्न खोजिएको बुझियो,’ उनले भनिन् ।

‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन । एउटा मन्त्रीले अर्को मन्त्रीलाई पोलेको छ – यसको छानबिनको हामी माग गर्छौं,’ सांसद सुमनाले प्रश्न गरिन्, ‘ ‘सम्बन्धित ठाउँ’ भनेको कसको ठाउँ हो, कुन ठाउँ हो ? अडियोमा ‘बा’ भनेको को हुन् ?’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो सार्वजनिक भएपछि रास्वपाले सरकारमाथि प्रश्न गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.