
विराटनगर । झापाको दमकमा आइतबार दिउँसो टिपरको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।
दमक नगरपालिका–३ संगम चोकमा अपरान्ह १२ बजेतिर दुर्घटना भएको हो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ५४४३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
टिपरले ठक्कर दिँदा स्कुटरको पछाडि सवार दमक–३ की अन्दाजी ५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको खड्काले बताए । शवलाई पोस्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परेर स्कुटर चालक ४४ वर्षीया टीका गौतम घाइते भएको जानकारी खड्काले दिए । उनका अनुसार टीकाको अवस्था सामान्य । प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु एवं घाइते हुनेहरु जेठानी र देउरानी हुन् ।
दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय तोयानाथ विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिना नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























