
विराटनगर । केपी ओली विनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल सफल नहुने प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आइतबार झापामा एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन,’उनले भने, ‘ तर पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाए ।’
पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने उनको भनाइ थियो ।
‘एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो,’ उनले भने,‘ एमालेविरुद्ध जाल बुन्नेहरु सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैंसी पर्दैन । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन ।’
























