कोशीका मुख्यमन्त्री र कृषि संगठनका प्रतिनिधिबीच भेटवार्ता

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३०, सोमबार ११:१८

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठनको नेपालका साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच आज (सोमबार) भेटवार्ता भएको छ ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत परियोजनाहरु सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गरे । उनले मध्यपहाडी जिल्लाहरुमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरुको उत्पादन, बजारीकरण र व्यवस्थापनका काममा सहयोग गर्नका लागि आग्रहसमेत गरेका छन् ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि ,जलवायु र विपदजस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके उपलब्धि हासिल हुनेमा जोड दिएका छन् । कोशी प्रदेश सरकार जलवायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्तै चिन्तित रहेको चर्चा गर्दै कार्कीले कोशी प्रदेश हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएको बताए ।

जैविक विविधतासहितको प्राकृतिक पहिचान रहेकाले पनि यहाँ जलवायु र कृषि उत्पादनका क्षेत्रमा काम गर्न सकिनेमा कार्कीको जोड छ । ‘प्रदेश सरकार यी विषयहरुमा कसरी अगाडी बढ्ने भन्ने गहन छलफल गर्नु पर्ने अवस्थामा छौं,’ मुख्यमन्त्री कार्कीले भने, ‘यी र यस्ता प्रभावहरुका बारेमा हामी सबै सरोकारवालाहरुसँग छलफल गर्न चाहन्छौं ।’

आगामी आर्थिक वर्ष विश्व रामसार दिवसका अवसरमा जलवायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारी रहेको उनले बताए । मुख्यमन्त्री कार्कीले विविध विषयमा सहकार्य गरेर अघि बढ्न कोशी प्रदेश सरकार सकारात्मक रहेको बताए ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् । उनले थप काम गर्नका लागि सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिए ।

प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायुका विविध विषयमा सहकार्य र समन्वयका साथ अगाडि बढ्ने उनको भनाइ छ । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले कोशी प्रदेशमा जैविक विविधता, माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरणजस्ता विषयमा काम गरिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.